युट्युबलाई सपिङ साइट बनाउने गुगलको योजना

231
Friendship Mobile

आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युबमा विज्ञापन प्रसारण गरी गुगलले मनग्गे आम्दानी गरिरहेको छ । तर गुगलको योजना बमोजिम युट्युबको दीर्घकालीन उपयोगिताको पाटो भने फरक छ । गुगलले युट्युबबाट इ-कमर्सको क्षेत्रमा पाइला चाल्ने लक्ष्य राखेको छ।

ब्लुम्बर्गको एक रिपोर्टअनुसार गुगलले विभिन्न सामानहरु ग्राहकलाई प्रत्यक्षरुपमा बेच्ने प्रयोजनका लागि युट्युबको प्रयोग गर्ने योजना बनाएको छ ।

युट्युबमा विभिन्न खाले प्रडक्टहरुका भिडियो असंख्य छन् अहिले पनि । चाहे त्यो खेलौना होस् वा इलेक्ट्रोनिक्स अनि लत्ता कपडा हुन् वा कस्मेटिक । भविष्यमा ती सबै सामानहरु युट्युबमार्फत नै खरिद गर्न सकिने गरी युट्युबलाई इ कमर्स साइटको रुपमा विकास गर्ने योजना गुगलको छ ।

अहिले युट्युबरहरुले भिडियोमा देखाइएका सामानहरु खरिद गर्नका लागि अमेजन वा अन्य त्यस्तै इ-कमर्स साइटहरुको लिंक दिने गर्दछन् । तर यदि गुगलको योजनाले मूर्तरुप लियो भने भविष्यमा कुनै अर्को साइटमा नगइकन सिधै युट्युबमार्फत नै सामान खरिद गर्न सकिनेछ ।

ब्लुम्बर्गको रिपोर्टमा भनिएको छ, ‘गुगलसँग सम्बन्धित श्रोतका अनुसार युट्युबका भिडियोहरुलाई नै सरसामानको सूची अर्थात् क्याटालगको रुपमा विकास गर्ने र उपलब्ध सामानहरु प्रयोगकर्ताले सिधै अनलाइन खरिद गर्नसक्ने गरी युट्युबलाई रुपान्तरण गरिँदैछ । युट्युबबाटै सामान बिक्री गर्नका लागि गुगलले शपिफाइ कम्पनीलाई युट्युबसँग समायोजन गर्ने कार्यको परीक्षण पनि गर्दैछ ।’

कतिपय युट्युब च्यानलहरुमा यस्ता फिचरहरुको परीक्षण भैरहेको युट्युबले यसअघि नै खुलासा गरिसकेको छ ।