बडा दशैंको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा आराधना गरिँदै

209
Friendship Mobile

नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ ।

नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र शुरु भएको हो । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।