सर्लाहीमा दशैंपछि आन्दोलनको आँधी ल्याउने कांग्रेस नेताहरुको चेतावनी

205
Friendship Mobile

नेपाली कांग्रेस सर्लाहीका नेताहरुले दशैंपछि सर्लाहीमा आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका छन् ।

आईतबार धनकौल स्थित प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहको निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह, संघीय सांसद् डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्रप्रसाद कुशवाहा र वीरेन्द्रप्रसाद सिंह लगायत नेताहरुले दशैं लगतै आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका हुन् ।

धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय, बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या यादव, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार बर्मा एवं कांग्रेसका जिल्लास्तरीय विभिन्न नेताहरुको समेत उपस्थिती रहेको पत्रकार सम्मेलनमा बोल्दै सांसद्हरुले आफूहरुमाथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर र ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले दुव्र्यबहार समेत गरेको आरोप लगाए ।

‘जनताबाट निर्वाचित हाँमी जनप्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष सिंह राठौर तथा डीएसपी उद्यव सिंह भाटबाट भौतिक रुपमै र फोनबाट समेत दुव्र्यबहार भएको छ’, चार नं. क्षेत्रबाट निर्वाचित संघीय सांसद् डा. सिंहले भने, ‘पीडित जनतालाई न्याय देउ भनेर आवाज उठाउँदा जनप्रतिनिधि माथि दुव्र्यबहार गरेर नेपाल पुलिसका अधिकारीहरुले नेकपा पुलिसको व्यबहार देखाएका छन्, अब हाँमी पनि छाड्नेवाला छैनौं, दशैंपछि आन्दोलनको आँधीबेरी ल्याउने छौं ।’

एसपी राठौरले फोन गरेर आफूमाथि अत्यन्त नीच स्तरको गालीगलौज गरेकाले कानूनी कारबाहीका लागि समेत तयारी गरिरहेको संघीय सांसद् सिंहले जानकारी दिए ।

हिन्दुहरुको महान चाड दशैंका कारण हाललाई आन्दोलन स्थगीत गरिएको र कोजाग्रत पूर्णीमा लगतै चरणबद्ध रुपमा आन्दोलनको आँधीबेरी ल्याउने जिल्ला उपसभापति सिंहले चेतावनी दिए ।

आन्दोलनका कारण हुने सबैखाले अपृय घटनाको जिम्मेवार स्थानीय प्रहरी प्रशासन नै रहने समेत उपसभापति सिंहको भनाई रहेको उज्यालो अभियानमा खबर छ ।