प्रदेश नं. २ सरकारले छठ पछि आफ्नै प्रहरी भर्ना गर्ने

330
Friendship Mobile

प्रदेश नं. २ सरकारले छठ पछि आफ्नै प्रहरी भर्ना गर्ने भएको छ । प्रदेश नं. २ मा आफ्नो प्रहरी नभएको कारण अपराध अनुसन्धानमा प्रदेश सरकारको संलग्नता नभएको भन्दै आफ्नै प्रहरीको लागि गृह कार्य थालेको प्रदेश सरकारले छठ पछि प्रहरी भर्ना गर्ने भएको हो ।

आइतबार भएको मन्त्री परिषदको बैठकले त्यस्तो निर्णय गरेको हो । प्रदेश प्रहरी ऐन पारित भएको झण्डै डेढ वर्षपछि प्रदेश २ सरकारले प्रहरी भर्ना लिने तयारी शुरु गरेको हो । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरी भर्ना लिने प्रकृया चाँडै नै शुरु गर्ने बताउनुभयो ।

प्रदेश २ को आइतबार बसेको मन्त्री परिषद बैठकमा आफूले प्रहरी भर्ना सम्बन्धि ठाडो प्रस्ताव लगेको र छठ पछि प्रहरी भर्ना लिने प्रकृया शुरु हुने मन्त्री यादवले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले प्रहरी जवान, असई र इन्सपेक्टर पदका लागि आवेदन आह्वान गर्ने छ । आइतबार बसेको प्रदेश २ को मन्त्री परिषद बैठकमा प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले जानकारी दिनुभयो ।

यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीको सरुवा तथा काज सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको हो ।

त्यस्तै प्रदेश विपत व्यवस्थापन सम्बन्धि प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय गरिएको मन्त्री यादवले जानकारी दिनुभयो ।