माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिप्पणी नगर्ने


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिप्पणी नगर्ने बताएका छन् ।
काठमाडौँ शंखरापुरको जरसिंहपौवामा राजनेता एवम् विशिष्ट व्यक्तिहरुको शालिकसहितका पार्क बनाउने सम्बन्धमा भएको कार्यक्रममा नेता नेपालले पार्टी भित्रको अन्तर विवाद बारे टिप्पणी गर्ने उपयुक्त समय नभएको बताएका हुन् ।
कार्यक्रममा सहभागी भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि पार्टी विवादबारे नबोल्ने बताए । नेता नेपालको विश्वास पात्रका रुपमा रहँदै आएका मन्त्री भट्टराईले विवादबारे बोल्न उपयुक्त नहुने उल्लेख गरे ।
नेकपा भित्र अहिले पुनः आन्तरिक विवादले उग्र रुप लिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नेपाल खेमाबिच विवाद रहँदै आएको छ ।
जरसिंह पौवामा विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्याएका व्यक्तिहरुको शालिकसहितको पार्क बनाउने तयारी भएको छ।