भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण रद्द गर्न सरकारसँग ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको माग

327
Friendship Mobile

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको यहि कार्तिक १९–२१ गतेको नेपाल भ्रमणले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डताविरुद्धको हर्कत हुने भन्दै नेकपा (माओवादी केन्द्र) सहितको २१ दलिय मोर्चा र अन्य संघ संगठनहरुले विरोध जनाएका छन ।

त्यहि क्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले आज एक विज्ञप्ती जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण नेपाल र नेपालीको हितमा नहुने ठहरसहित त्यसलाई रद्द गर्न नेपाल सरकार समक्ष माग गरेका छन ।

नरवणेको नेपालको भूअखण्डताविरुद्धको अभिव्यक्ति र लिम्पियाधुरा कालापानी लिपुलेकमाथि भारतको दाबीबाट पछि नहटेको अवस्थामा उनको भ्रमणले थप समस्या निम्त्याउन सक्ने प्रति संकेत गर्दै ग्रेटर नेपालले त्यस्तो माग अघि सारेको हो ।

ग्रेटर नेपालको उक्त विज्ञप्तीमा नेपाली नागरिकको अहितमा प्रत्यक्ष रुपमा जोडिएका नरवणेलाई भ्रमण गराउने, सम्मान गर्ने जस्ता कार्यले वर्तमान सरकार स्वयम् राष्ट्रिय अखण्डताविरुद्ध गएको स्पष्ट हुने भन्दै उनका सम्पूर्ण भ्रमणका कार्यक्रम रद्द गर्नुपर्ने भनिएको छ ।

त्यस्तै नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि दिने, सुशोभित गर्ने विषयले विरताको इतिहास रचेको नेपाली सेनाको स्वयम् अपमान हुने ग्रेटर नेपालले बताएको छ ।

उक्त विज्ञप्तीमा भनिएको छ–‘इन्डियाली सेनाध्यक्ष नरवाणेलाई नेपाल सरकारले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानीले सुशोभित गर्ने जुन निर्णय गरेको छ, त्यो नेपाली जनता , नेपालको संसद् र नेपाली सेनाको वीरतापूर्ण ख्यातिको खुला अपमान हो ।’

विज्ञप्तीमा अगाडि भनिएको छ–‘नेपालका प्रधान सेनापति र इन्डियाली सेनाध्यक्षलाई एकअर्को देशको सेनाको मानार्थ महारथी दर्जा लिनेदिने गलत परम्पराको अन्त्य गरी नेपाली सेनालाई इन्डियाली नेपाली सेना भएको आरोपबाट मुक्त राख्न पनि मोर्चा सरकारसँग आग्रह गर्दछ ।’

मोर्चाले उनको नेपाल भ्रमण नेपाली हितमा नहुने ठोकुवा गर्दै उनको सम्पूर्ण भ्रमणका कार्यक्रमहरु तत्काल रद्द गर्न सरकारसँग अनुरोध गरको छ ।