सर्लाहीको मलगंवा नगरमा उपमेयर ताला लगाउने मेयर ताला तोड्ने

414
Friendship Mobile

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा उपमेयर शवनम मिकरानीले गरेको तालाबन्दी मेयर निरसल साहले फुटाई दिएका छन । सोमबार दिउँसो उपमेयर शवनम मिकरानी सहित चार जना वडा अध्यक्षले मलंगवा नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।

मेयर निरसल साहले नगरपालिकामा मनोमानी ढंगले कर्मचारी भर्ना तथा आर्थिक अनियमिता गरेको आरोप लगाउँदै उपमेयर सहित ४ जना वडा अध्यक्षले आर्थिक प्रशासन शाखामा तलाबन्दी गरेको हो । उनीहरुले गरेको तालाबन्दीलाई मेयर निरशल शाहले सोमबार नै तोडिदिएका छन ।

उपमेयर मिकरानीले डोर हाजरीमा तलब खाँदै आएको आफ्नो छोरा समिर मिकरानीलाई नियुक्त गर्नुपर्ने लगायत केही वडा अध्यक्ष समेतले विभिन्न अनुचित काम गराउन खोजेको तर आफु नमान्दा आर्थिक प्रशासन शाखामा उनीहरुले तालाबन्दी गरेपछि आफुले ताला फुटाई दिएको मेयर साहले जानकारी दिनुभयो ।

‘कुन कारणले आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको हो’ भनेर मैले सोध्नको लागि उपमेयरलाई फोन गर्दा उहाँले फोन उठाउनुभएन, त्यसपछि उहाँको श्रीमान कामिल मिकरानीलाई फोन गर्दा उपमेयर भारतको मुजफ्फरपुर गएको बताएपछि आफुले ताला फुटाई दिएको मेयर शाहले बताए । ज्येष्ठ नागरिक, अपांग, बालबालिका तथा दशैँ तिहार र छठको समयमा कर्मचारीहरुलाई तलब खुवाउने समयमा आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेका कारण ताला फुटाएको मेयर साहको दाबि छ ।

उपमेयर मिकरानीसँग सँगै वडा नम्बर ३, ८, ९ र १२ का वडा अध्यक्ष मिलेर नगरको प्रशासन शाखामा तलाबन्दी गरेका थिए । यता मेयर शाहले वडा नम्बर १, २, ४, ७ , ११ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु समेतको उपस्थितीमा प्रशासन शाखामा लगाएको ताला फुटाएका हुन ।