परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी

452
Friendship Mobile

परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ ।

परिवार नियोजनको स्थायी साधन मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । पुरुषमा स्थायी भ्यासेक्टोमी र अस्थायी कण्डम मात्र रहेको तथा महिलामा डिपोप्रोगेरा, इम्प्लाण्ट, पिल्स, कपर टी (आइयुसिडी) अस्थायी र स्थायी मिनील्याप  छ । पुरुषप्रधान मुलुक भएको र स्थायी बन्ध्याकरण गर्दा नकारात्मक सन्देश प्रवाह हुँदा पुरुषको सहभागिता कम हुने गरेको बताइएको छ । पुरुषले स्थायी बन्ध्याकरण नगर्दा बाध्य भएर महिलाले गर्नुपरेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेका अनुसार  विगत चार आर्थिक वर्षमा पुरुषका तुलनामा करीब तीनगुणा  महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । सो चार आवमा  भ्याक्सेटोमीमा १३ लाख नौ हजार ९५३ र मिनील्यापमा ४० लाख ४२ हजार ६९८ जना सहभागी भए । आव २०७५-७६ मा १० लाख एक हजार ८०६ महिलाले मिनील्याप र तीन लाख १६ हजार २६७ पुरुषले भ्याक्सेटोमी गराएका छन् ।

त्यसो त पुरुषको तुलनामा महिलाले परिवार नियोजनका स्थायी वा अस्थायी साधन बढी प्रयोग गर्दा जोखिमसमेत हुने गरेको छ । एक त शिशु जन्माउनुपर्ने र अर्कातिर परिवार नियोजनका लागि सहभागी हुनुपर्ने जस्ता बाध्यताले जोखिम बढ्ने जनस्वास्थ्यविद्को भनाइ छ । भ्यासेक्टोमीमा पुरुषमा रहेको शुक्रकिट बहने नलीलाई काटिन्छ । मिनील्याप महिलाको डिम्बको दुई नशा काटेर गरिन्छ । पुरुषको बन्ध्याकरण सजिलो र महिलाको मिनील्याप जटिल खालका शल्यक्रिया हुन् ।