रौतहटमा चक्कु प्रहार गरी एकजनाको हत्या, हत्यामा संलग्न एकजना पक्राउ

331
Friendship Mobile

रौतहटमा गएराति चक्कु प्रहार गरी एकजनाको हत्या गरिएको छ । चक्कु प्रहारबाट जिल्लाको वृन्दावन नगरपालिका ३ का मौजेलाल रामको १८ वर्षिय छोरा नन्दकिशोर रामको मृत्यु भएको छ ।
स्थानीय लक्ष्मी रामको १९ वर्षिय छोरा रवि रामले छुरा प्रहार गर्दा नन्दकिशोर रामको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमवार राति पौने ९ बजेको समयमा छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी रवि रामको काकी ललिता देवीलाई गाली गलौज गर्दा दुवै जनाबीच झगडा भएको थियो ।
झगडामा लाले रामको पक्ष लिई बालेको भन्दै रवि रामले नन्दकिशोर रामको पेट अर्थात कोखमा धारिलो हतियार चक्कु प्रहार गरेको थियो । झगडा शान्ति भइसकेको अवस्थामा रामले गरेको चक्कु प्रहारबाट नन्दकिशोर राम गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका नन्दकिशोर रामको चन्द्रनिगाहपुरको एपोलो अस्पतालमा उपचारको क्रममा राति साढे ९ बजे नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने रवि रामलाई इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले सोमवार राति नै पक्राउ गरिसकेको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलको कमाण्डमा खटेको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा रवि रामलाई उनको आफनै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।