नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगले पठायो पत्र

238
Friendship Mobile

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र लेखेको छ ।

दाहाल–माधवकुमार नेपाल पक्षलाई आधिकारिकताको मागदाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ । ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ ।

आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले दुवै पक्षलाई पत्र पठाइएको तर त्यसमा लेखिएको विषयबारे आफूलाई जानकारी नभएको बताए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा हठात् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपा विभाजित छ । तर विभाजनले औपचारिकता पाइसकेको छैन । दुवै पक्षले ५ गतेयता लगातार आयोगमा पत्र पठाएका छन् ।

ती पत्रका आधारमा मात्रै दलको मान्यतासम्बन्धी विवादमा पस्न समस्या भएको आयोगले जनाएको छ ।