किसान ठगीको आरोपमा पक्राउ परेका उद्योगी अग्रवालले गरे किसानको सम्पूर्ण बाँकी रकम भुक्तानी

210
Friendship Mobile

वर्षौंदेखि करोडौं रकम भुक्तानी नगरेर उखु किसानलाई ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी राकेश अग्रवालले सर्लाहीका उखु किसानको सम्पूर्ण रकम भुक्तानी गरेका छन् ।

बुधबार सम्म अग्रवालले उखु किसानको खातामा १७ करोड सातलाख १६ हजार ८५ रुपैंया ५६ पैसा किसानलाई खातामा भुक्तानी गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

हालसम्म जानकारीमा आएको तथ्यांक र कागजातका आधारमा किसानको बक्यौता भुक्तानी भईसकेको र थप कोही आए भनेपनि बैंक खातामा मौज्दात राखिएकाले अग्रवालको अदालती मुद्धा प्रकृया टुंग्याउनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाईएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक (संचालक) अग्रवाललाई माघ १४ गते साँझ काठमाडौंको त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच सर्लाही प्रहरीको हिरासतमा रहेका राकेश अग्रवाललाई पुनः अर्को ठगी मुद्धामा कार्बाही प्रकृया अगाडी बढाउन पश्चिम नवलपरासी प्रहरीको जिम्मा लगाईने भएको छ । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयको पत्राचारको आधारमा जिल्ला अदालत सर्लाहीबाट छुट्ने वितिकै अग्रवाललाई पुनः हिरासतमा लिएर सर्लाही प्रहरीले उतै पठाउने भएको उज्यालो अभियानमा खबर छ ।