नेपालमा फेरि नयाँ कोरोना भाइरसको संक्रमणको आशंका

339
Friendship Mobile

नेपालमा पुन: नयाँ प्रकारको कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ ।

कुनै ट्राभल हिस्ट्री नभएका १३ जनामा संक्रमणको आशंका गरिए पनि उनीहरुको सम्पर्क भने नयाँ भेरियन्टको कोरोना संक्रमण देखिएका व्यक्तिसंग भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले बताए ।

उनका अनुसार केही दिनअघि मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको सम्पर्कमा रहेका १३ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियन्टको भाइरस पुष्टि भएको हो । ती व्यक्ति पनि बेलायतबाट फर्किएका व्यक्तिको सम्पर्कमा रहेका थिए ।

‘नयाँ प्रकारको कोरोना भाइरसमा ‘एस जीन’ नदेखिने र यी १३ जनामा पनि परीक्षण गर्दा ‘एस जीन’ नदेखिएकोले नयाँ प्रकारको भाइरस पुष्टि भएको, तर यसअघि बेलायतबाट फर्किएका तीन जनामा देखिएको खालको भेरियन्ट हो वा हैन भन्ने निश्चित छैन’ डा. पौडेलले भने, ‘नयाँ स्वरुपको भाइरसको आशंका गरेको केही दिन भयो हामीले अझै कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौं ।’

हाल नेपालमा कुन किसिमको कोरोना भाइरस हो भनेर पत्ता लगाउन परीक्षण गरिने ( जीन सिक्वेन्सिङ) प्रविधि छैन, यसअघि गत माघमा पनि बेलायतबाट आएका नेपालीमा देखिएको भाइरस कुन किसिमको हो भनेर पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा पाँच जनाको स्वाब संकलन गरी पुस २७ पठाइएको थियो ।

पाँच जनामध्ये ३ जनामा नयाँ  ‘भेरियन्ट’को भाइरस देखिएको थियो । अहिले पनि जिन सिक्वेन्सिङको लागि पठाउन नमुना तयार गरिएको डा. पौडेलले बताए ।

‘संक्रमण देखिएका कसैमा पनि कुनै स्वास्थ्य समस्या देखिएको छैन’ डा. पौडेलले भने, ‘ अहिले आशंका गरिएकाहरु काठमाडौं, पोखरा लगायतका ठाउँका छन् ।’