संवाद संस्कृतिको विकास–विवादले पाउँछ निकास !

486
Friendship Mobile
  • कुष्ण गौतम

“शान्तिको कुनै बाटो छैन,शान्ति मार्ग हो”
–महात्मा गान्धी
“शान्ति भनेको हामीले खोज्ने टाढाको लक्ष्य मात्र होइन,तर त्यस्तो माध्यमबाट हामी त्यो लक्ष्यमा पुग्छौं ”
–माट्रिन लुथर किङ्ग

माथि उल्लेखित दुवै उदगारहरुले शान्तिको अपरिहार्यताको बारेमा प्रष्ट हुन्छ । महात्मा गान्धी र मार्टिन लुथर किङ्गले व्यक्त गर्नुभएको विचार कुनै भाववेशमा आएर गरिएको होइन ! वषौं वर्षको व्यवहारिक अनुभवबाट सिद्ध गरिएको विचार हो र शान्ति विना लक्ष्यमा पुग्न तथा शान्ति प्राप्त गर्ने बाटो शान्ति नै हो भनेर प्रष्ट गर्नु भएको छ ।

कसैलाई कुनै काम विना अवरोध स्वतन्त्र रुपमा गर्न पाउने वातवरण नै शान्ति हो । कोलाहल आदी रहित अवस्थालाई शान्तिको अवस्था मान्न सकिन्छ । शान्ति निर्माणका लागि वैदिककाल देखि नै प्रयत्न भइरहेको पाइन्छ ।

महाभारतको युद्धमा कृष्णले शान्तिको लागि कौरव र पाण्डव बीच मध्यस्थता गर्नुभएको थियो भने देव र असुर बीच भएका कयौं युद्धहरुमा बृहस्पति, विदुर आदीले शान्तिका लागि पहल गरेको दृष्टान्त धार्मिक ग्रन्थहरुमा वर्णन गरेको पाइन्छ । आधुनिक मानव सभ्यता विकासको पाँच हजार बर्षमा पन्ध्रहजार भन्दा बढि साना ठूला लडाईहरु भए पारिवारिक झैझगडा तथा समुदाय स्तरको विवादको त लेखाजोखा नै छैन ! ति अनगिन्ती झैझगडाहरुको निरुपण अहिले विकशित भएको न्याय सम्पादन गर्ने अदालत, न्यायीक निकाय, प्रहरी प्रशासनहरुबाट मात्रै समाधान भएका होइनन्, अधिकाँश विवादहरु समुदाय स्तरमा नै हुने छलफल वा समाजका अगुवाहरुले दिने निर्णयबाट नै समाधन भएका छन भन्दा फरक नपर्ला ।

यस छोटो आलेखमा शान्तिका लागि संवादको आवश्यकता महत्वको चर्चा र संवादलाई सँस्कृतिको रुपमा विकास गर्न खेल्नुपर्ने भूमिकाको बारेमा केही कुराहरु राख्ने जर्मेको गरिएको छ ।


शान्तिपूर्वक जीवनयापन गर्न सवै चाहन्छन । शान्ति के हो ? शान्तिको आवश्यकता र महत्वको बारेमा धेरै बहस, ब्याख्या विश्लेषण गर्छन तर शान्ति निर्माण कसरी ? भन्ने विषयमा बहस/छलफलहरु अत्यन्तै कम भएका छन । शान्ति निर्माणका लागि सार्थक पहल गर्न हामी कुनै न कुनै रुपमा चुकिरहेका छौं । शान्ति ! शान्ति !! जपेर शान्ति प्राप्त हुने होइन ? शान्तिको लागि संवाद हुन जरुरी छ ।

मानविय स्वाभाव आफ्नो कुरा सुन्ने र प्रशंसा गर्नेहरुसँग मात्र निकटता हुने गर्दछ अझ भनौं मनपरेका मान्छेहरुसँग मात्र कुराकानी गर्ने, मननपरेका अथवा विचारमा थोरै असहमति भयो भने, आफूलाई फाइदा कम हुने भयो भने, आफ्नो आत्मसम्मानमा थोरै मात्र पनी चोट पुगेको जस्तो लाग्यो भने बोलचाल कम गछौं यात बोलचाल नै बन्द गछौं र आफू मात्रै ठिक भएको अनुभूति गर्ने भन्ने र असहमत व्यक्तिहरुको नराम्रा पक्षहरु र उसबाट भएका गल्ती कमजोरीहरुको टिका टिप्पणी गर्ने कुरा काट्ने गर्दछौं । सकेसम्म भेटघाट नै नगर्ने भेटघाट भइहाले पनि नबोल्ने बोली हाले पनि औपचारिकता मात्र निर्वाह गर्ने, घोचपेच गर्ने, राम्रो काम गरेपनि नराम्रो देख्ने, राम्रो बोले पनि नराम्रो सुन्ने हरेक क्रियाकलापहरुप्रति शंका गर्ने बानी हामी सवैमा कुनै न कुनै रुपमा कसैमा अलि बढि कसैमा अलि घटी रहेको छ ।

यो कुनै व्यक्तिगत प्रवृति मात्र नभएर समाजको सँस्कृति नै बनेको छ भने अर्कोतिर नेपाली समाजमा लामो समयदेखि कायम रहेको जातिय, लिङ्गिय, बर्गिय र क्षेत्रिय विभेदको कारण खुलेर आफ्ना कुरा राख्न नसक्ने, राखिहाले पनि नसुन्ने, सुनिहाले पनि सम्बोधन नहुने, सम्बोधन गरे जस्तो गरेपनि व्यबहारमा नदेखिने जस्ता समस्याका कारण शान्ति निर्माण कोरा कल्पना, दिवा–स्वपना बनिरहेको छ भन्दा फरक नपर्ला ?


– संवाद भनेको के हो ?

संवाद भनेको साधारण अर्थमा भन्ने हो भने कुराकानी भन्ने बुझिन्छ । संवाद समस्या समाधानको लागि गरिने अन्र्तक्रिया हो यो दुइतर्फी हुने गर्दछ । हामी कुराकानी नगरी बस्न पनी सक्दैनौं हाम्रा सवै कुराकानी विषय–वस्तुसँग जोडिएका पनि नहुन सक्छन । चाहे गाउँघरका चौक चौतारा या शहर बजारमा होस यातः सरकारी गैरसरकारी कार्यालय, विद्याल, सहकारी, वित्तिय संस्थाहरुका कार्यालयमा नै किन नहोस अधिकांश समय राजनीतिका रोगि बातचित भइरहेको हुन्छ । फलानो नेताले यसो भन्यो, तिलानो नेताले यसो ग¥यो, यसो गर्नुपर्नेमा त्यसो ग¥यो, तेरो दल नराम्रो, मेरो दल राम्रो, यस्तो हुन्छ भनेर मैले पहिले नै भनेको थिए (खासमा उसले पहिले केही नभनेको पनि हुन्छ) आदी जस्ता कुरामा रस्सा–कस्सी गर्दै फरक समूह वा फरक बिचारका मान्छेहरु र मननपरेका मान्छेहरुको झाँको झार्ने एकसरो मेलो सकेपछि कार्यालय वा आफ्नो जिम्मेवारीको काम केही गरे जस्तो गरेर फेरी अहिले धेरैमा लोकप्रिय भएको फेसबुक(थुतुने किताब)मा स्टाटस (अवस्था) दर्शाउने नाममा चाहिने नचहिने अर्ति, गाली–गलौज, अन्धभक्ति स्तुतीगान, थुतुनो विगारेका सेल्फी, मर्केका, फर्केका, बसेका, उठेका, हिडेका, सुतेका, लाएका, खाएका फोटा नामका चित्र–विचित्र र बिभिन्न लिलाका टिक–टक भिडियो अपलोड तथा एप्सहरुको डाउनलोड गर्दै महत्वपूर्ण समय अनहाकमा खर्च गरीरहेका मात्र छैनौं सँगै बसेर छलफल गर्ने अनुभव साट्ने,दुःख सुख बाँड्ने सँस्कृति हराउदै गएको छ ।

छोरा–छोरी, बाउ–आमा मात्रै नभएर हजुरवा–हजुरआमा समेत चस्माको साहरामा मोवाइलमा नै हराउन थालेका छन, मानव समुदाय एकाङ्कीक र अन्र्तमूखि बन्दै गएको छ । घरमा आउने पाहुनाले सन्चो विसन्चो, घर व्यावहार सोध्दैन्न वाइफाईको पासवर्ड सोध्दछन ! छोरा–छोरी, श्रीमतिले काममा गएको बाउ नआए त्यति सारो वास्ता गदैन्न जति वाईफाईको लाइन नआउदाँ गर्दछन ! सँगै बसे नबसेको खासै अनुभूति हुदैन किन की कुराकानी हुँदैन, भई हाले पनी औपचारिकता मात्रै हो । खुसि बाँड्ने दुःख साट्ने, पिडा पोख्ने पनि फेसबुकमा नै हुन थालेको छ । सामाजिक सञ्जालका भित्ताहरु बिरुप हुने गरी गाली–गलौज, हाँसो, रोदन, अर्ति उपदेश, सूचना र व्यापारका विज्ञापनले लतपतिएका छन । आफूले गर्ने काम नजान्ने अरुले गर्ने काम जान्ने त्यही काम गर्नु प¥यो भने नजान्ने मनरोगबाट हाम्रो सिँङ्गो समाज नै ग्रसित हुदै गइरहेको छ ।

समाज संवादहिनतामा गइरहेको छ भन्दा फरक नपर्ला यही अवस्थाबाट गुज्रिने हो भने भोलीको समाज कस्तो होला ? कल्पना गर्न पनि गाह्रो छ । हाम्रो समाजलाई एकाङ्कीक हुनबाट बचाउन र शान्ति निर्माण गर्नको लागि घर परिवार तहदेखि नै संवादको थालनी गर्नुपर्दछ । बाउ–आमाले पारिवारको अवस्थाको बारेमा छोरा–छोरीलाई जानकारी गराई उनिहरुको भूमिकाको बारेमा सचेत गराउने । छोरा–छोरीको इच्छा, चाहना, रुची, आवश्यकताको बारेमा छलफल गर्ने । टोल–टोलमा टोलको अवस्था विश्लेषण टोलको सुधार र विकासका योजना तर्जूमा कार्यान्वयन आम सहभागिता कामको समिक्षा गर्र्ने परिपाटिको विकास गर्ने ।

टोल–टोलमा बाचानालय,सार्वजनिक बहस,कम्तिमा वर्षको एकपटक टोलवासीको सहभागितामा एउटा पिकनिक, पाक्षिकरुपमा छोटो समयको घुम्ती टोलभेला, आय–आर्जन गर्ने सिप र अनुभव आदन–प्रदान, गाउँ, टोल विकास संस्था स्थापना परिचालन, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागितामा वडाको विकास, सम्बृद्धिको लागि सहजिकरण गर्न संवाद समूह गठन परिचालन, मेलमिलाप केन्द्रको प्रभावकारी सञ्चालन, गाउँ, टोलमा हुने विकास निर्माण कार्यका तथा सामुदायिक संस्थाहरु (विद्यालय, खानेपानी, सिंचाई, सामुदायिक वन, धार्मिक वन, क्लव आदी) को आम्दानी खर्चको सार्वजनिक लेखा परिक्षण, सार्वजनिक सुनुवाई प्रत्येक कार्यालयमा नागरिक वडापत्र जारी गर्ने र कडाईपूर्वक लागु गर्ने । पालिका स्तरमा सवै राजनीतिक दलहरुका प्रतिनिधिहरुको प्रतिनिधित्व र आलो पालो नेतृत्व हुने गरी संवाद समूह गठन, संवाद समूहको परामर्शमा पालिका स्तरीय शान्ति, सम्बृद्धि र विकासका योजना तर्जूमा, कार्यान्वयनमा आउन सक्ने अवरोधमा संवाद समूहबाट सहजिकरण, संवादलाई संस्कृतिको रुपमा विकास गर्न पूरा गर्नुपर्ने आधारहरुको बारेमा कार्यशाला गोष्ठी र सार्वजनिक वहस (मिडिया र सामाजिक सञ्जाल) मा अगाडी बढाउने धार्मिक–साँस्कृति रुपान्तरणको लागि पुरोहितहरुबाट मानवता, भातृत्व, समानता जस्ता विषयमा प्रवचण दिने धार्मिक ग्रन्थहरुमा विभेद नभएको स्पष्ट पार्ने व्याबहारिकरुपमा विभेद नगर्ने ।

पाठ्यक्रममा सवैखाले विभेद इश्वरीय देन होइन मानव सिर्जित भएको तथ्य बोध गराउने तथा मानविय सदभावको पाठहरु तयार गर्ने विभेद गर्नेलाई कानूनी सजाय हुने कुराको बोध गराउने, विशेष गरी पंण्डीत पुरोहितरुको सहभागितामा सहभोजको आयोजना गर्ने सवै जाती, भाषीहरु भाषा, सँस्कृतिको बारेमा बहस, छलफल, अन्र्तक्रियाको थालनी गर्न सके संवाद सँस्कृतिको विकास हुने र विवादले निकास पाउनेमा ढुक्क हुन सकिन्छ ।

शान्ति निर्माणको आधार तयार पार्न सवैले आ–आफ्नो ठाउँबाट प्रयत्न गरौ यही नै आजको युगको माग हो सवैलाई चेतना भया ।