ट्रकको ठक्करबाट हरिवनमा मोटरसाइकल चालकको ज्यान गयो

1,570
Friendship Mobile

हरिवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, सुखेपोखरीमा ट्रकले ठक्कर दिँदा स्थानिय एक युवकको ज्यान गएको हो ।

सुखेपोखरी आँखा अस्पताल अगाडि भएको दुर्घटनामा हरिवन नगरपालिका–११, बस्ने मोहम्मद फुदिन राईनका छोरा १८ वर्षीय जुमराती राईनको ज्यान गएको छ । राईनलाई उपचारका लागि नमूना अस्पताल हरिवन लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ईलाका प्रहरी कार्यालय हरिवनले जनाए अनुसार शनिवार दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ आइरहेको सिमेन्ट लोड भएको ना ५ ख ८४९३ नम्वरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना ५६ प ७२०८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले बताए ।