सहारा विकास बैंकको ३ वर्षको वार्षिक साधारणसभा शनिवार एकैसाथ सम्पन्न


सहारा विकास बैंक लिमिटेडले एकैपटक ३ वर्षको वार्षिक साधारणसभा गरेको छ । बैंक सञ्चालक समितिको साउन २२ गते बसेको बैठकको निर्णयले आर्थिक वर्ष २०७४/७५ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको आठौँ, नवौँ र दसौँ वार्षिक साधारणसभा एकसाथ सम्पन्न गरेको हो ।
कार्यक्रम सनिवार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–८ स्थित कुसुम पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको हो । सहारा विकासका अध्यक्ष संजय कुमार गुप्ताको सभापतित्व तथा संस्थाका संस्थापक शेयरधनी नागेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सभामा सहारा विकास बैंक, गरिमा विकास बैंकमा प्राप्ति हुने विशेष प्रस्ताव अनुमोदन गरेको छ । सोही सभाले प्राप्ति प्रयोजनाका लागि तोकिएको १ः१ सेयर स्वाप रेसियो पनि अनुमोदन गरेको छ । साधारणसभाले संस्थापक अध्यक्ष संजय कुमार गुप्तालाई सर्वसम्मतिले संचालक समितिको अध्यक्षमा पुनः चयन गरेको छ । उनको नेतृत्वमा सुवोध कुमार लुइँटेल, ओम बहादुर थापा, अस्मिता देवी अग्रवाल र प्रेम किशोर गुप्ता चुनिएका छन ।
साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गुप्ताले सभाले प्राप्तिपछि बैंकको नाम गरिमा विकास बैंक लिमिटेड रहने विशेष प्रस्ताव पारित गरेको जानकारी गराए । जिल्लामा एउटा पनि विकास बैंक नरहेको अवस्थाम आर्थिक कारोबार संचालन गर्न जिल्लाबासीहरुले भोग्दै आएको समस्याहरुलाई मध्यनजर गर्दै संस्थाको स्थापना गरेको जानकारी गराउँदै अध्यक्ष गुप्ताले संस्थालाई सफल बनाउन सहयोग तथा योगदान पुर्याउने संचालक समिति, संस्थापक सदस्य, शेयरधनी, संस्थासँग आर्थिक लगायत अन्य कारोबारमा संलग्न लगायतका सुवेच्छुकहरुलाई धन्यवाद लिए ।

कार्यक्रममा संचालक समिति सदस्य बाल कृष्ण साह, अस्मिता देवी अग्रवाल, राम नरेश साह, गरिमा विकास बैंक लिमिटेडका संचालक सदस्य बिमल पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय, हिमालय पंथी, चमेली बचतका अध्यक्ष भरत साह, सहारा विकासका संस्थापक सदस्य संजु प्रसाद जयसवाल, सल्लाहकार राजेन्द्र कुमार अग्रवाल, समाजसेवी रजनीकांत झा, नागरिक समाजका उग्र कांत झा, शिवचन्द्र चौधरी, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष विरेन्द्र साह, चेम्बर अफ कमर्श मलंगवाका अध्यक्ष अमीत कुमार अग्रवाल लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संचालक समितिका सदस्य महेश प्रसाद काफ्लेले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रमका संचालक संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव दयाकांत साहले कार्यक्रममा प्रत्यक्ष रुपमा सहभागी हुन नसकेका संस्थाका शेयर धनीहरुले जुम मार्फत सहभागीता देखाएको जानकारि दिए ।