आज दशैँको अन्तिम दिन, कोजाग्रत पूर्णिमा मनाइँदै

277
Friendship Mobile

आज दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित आजदेखि दशैँ पर्व समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ ।

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।

आजको रात जाग्राम बस्नेहरुका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि बुधबार रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

आज ३१ घडी ४६ पला अर्थात् बेलुका ६ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।

कार्तिक स्नान र आकाशदीपदान पनि भोलिदेखि नै सुरु हुने समितिले जनाएको छ ।