चैत ५ भित्र स्थानीय तहको चुनाव

254
Friendship Mobile

निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् ।

सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

‘स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्नुपर्छ । संकटकाल बाहेकको अवस्थामा म्याद थप्ने व्यवस्था पनि छैन । स्थानीय तह पदाधिकारीविहीन राख्न पनि मिल्दैन,’ आयोगका एक पदाधिकारीले भने, ‘हामी देशभर एकै चरणमा, एकै पटक स्थानीय तहको निर्वाचन गर्न तयार छौं भनेका छौं ।’

प्रदेशसभा र प्रतिनिधिसभाको अवधि भने १४ महिना बाँकी छ । त्यसैले पहिला स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने आयोग पदाधिकारीहरुको जोड थियो । 

आयोग पदाधिकारीहरुले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि देशभर एकै पटक गर्न सकिने बताएका छन् । एक आयुक्तका अनुसार प्रधानमन्त्री देउवा स्थानीय चुनाव पहिले कि प्रदेश र प्रतिनिधिसभा भन्ने बहसमा प्रवेश नै गरेनन् ।

तर देशभर एकै पटक चुनाव गर्ने आयोगको प्रस्तावमा उनी सहमत देखिएका छन् ।