बेमौसमी बर्षाको मारमा परेका किसानलाई धानबाली क्षेत्रफलको आधारमा क्षतिपुर्ती दिने सरकारको निर्णय

248
Friendship Mobile

नेपाल सरकारले बेमौसमी वर्षाका कारण किसानले लगाएको धानबालीमा भएको क्षतिका विषयमा जग्गाको क्षेत्रफललाई आधार बनाएर राहत दिने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जानकारी गराएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई धानबालीको क्षेत्रफलका आधारमा राहत दिने र त्यसका लागि कार्यविधि बनाउन कार्यदल गठन गर्ने निर्णय समेत भएको कृषी मन्त्री यादवले बताएका छन् ।

मन्त्री यादवका अनुसार, सरकारले साना किसान (बढीमा १० कठ्ठा जग्गा) को धानबालीमा भएको क्षतिको उत्पादन लागतको ६५ प्रतिशत रकम अर्थात प्रति कठ्ठा १ हजार ९ सय २१ रुपैयाँ र प्रति बिघा ३८ हजार ४ सय २० रुपैया, मझौला किसान (११ कठ्ठादेखि ४० कठ्ठासम्म) को धानबालीमा क्षति भएकालाई उत्पादन लागतको ३० प्रतिशत रकम अर्थात प्रति कठ्ठा ८ सय ८७ रुपैया र प्रती बिघा १७ हजार ७ सय ४० रुपैयाँ त्यसैगरी ठूला किसान जस्को ४१ कठ्ठा भन्दा बढी क्षेत्रफलमा क्षति भएको छ उनिहरुलाई उत्पादन लागतको २० प्रतिशत रकम अर्थात प्रति कठ्ठा ५ सय ९१ रुपैयाँ र प्रति बिघा ११ हजार ८ सय २० रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय भएको छ ।

त्यस्तै सरकारले आंशिक क्षति अन्तर्गत सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत रकम अर्थात प्रति कठ्ठा ५ सय ९१ रुपैयाँ र प्रति बिघा ११ हजार ८ सय २० रुपैयाँसम्म राहत उपलब्ध गराउने भएको छ ।

राहत वितरण गर्ने कार्यविधि बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई मन्त्रिपरिषद्मा पेस गर्नेछ ।

हालसम्मको तथ्यांक अनुसार राहत उपलब्ध हुने अनुमानित क्षेत्रफल १ लाख ११ हजार हेक्टर रहेको र सोको राहतका लागि नेपाल सरकारको खर्च हुने अनुमानित रकम ११ अर्व ८८ करोड मध्ये बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई ५ अर्व ५२ करोड रुपैयाको राहत प्याकेजको घोषणा गरेको कृषि मन्त्रालयले जनाएको छ ।