मिथिलाञ्चलमा सामा चकेवाको रौनक

216
Friendship Mobile

सर्लाही | मिथिलाको संस्कृति झल्काउने दिपावली र छठ पछिको दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व सुरु भएको छ ।

सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व कार्तिक शुक्ल पक्षको द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व १० दिनसम्म चल्ने छ ।

११औं दिन पूर्णिमाको रात सामा चकेवालाई जलाशयमा विसर्जन गरी पर्वको विधिवत समापन गरिन्छ । मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै लगातार १० दिनसम्म सामा चकेवा खेल्ने गर्दछन् ।

पर्वको पहिलो दिन बिहान दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउँछन । माटोबाट तयार पारिएका सामा चकेवा लगायतका आकृति बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङहरु लगाएर रङ्गीचङ्गी बनाइन्छ । त्यसपछि सबै आकृतिलाई राति बाँसको डालामा राखेर बीचमा दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन् ।

दिदीबहिनीहरु सामुहिक रुपमा दश दिनसम्म सामा चकेवाको गीत गाएर गीत मार्फत आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् । त्यसपछि ११औं दिन दाजुभाइको हातबाट सामा फुटाउन लगाइ फार भर्ने गरिन्छ । दाजुभाइको हातबाट फुटाउन लगाएको सामा चकेवा दिदीबहिनीहरु राति बाजागाजाका साथ जलाशय, वन अथवा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् । यसरी सामा चकेवाको विधिवत समापन हुन्छ ।

मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमै गएर पर्व मनाउने इच्छा गर्ने भएकाले टाढा–टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्न माइत जाने गर्दछन्।

मध्य तराईको सर्लाही जिल्लासहित महोत्तरी, धनुषा, रौतहट , सिराहा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा पनि यो पर्व लोकप्रिय छ ।

मिथिलाञ्चलमा छठपर्वको खरनाको दिनदेखि सामा चकेवा पर्व सुरु हुन्छ भने छठको तयारीसँगै यो पर्वका लागि पनि दिदीबहिनीले तयारी गर्ने गर्दछन् ।