आज देशभर माओवादी केन्द्रको वडा सम्मेलन

153
Friendship Mobile

सर्लाही | नेकपा माओवादी केन्द्रले आज (शनिबार) देशभर वडा सम्मेलन गर्दै छ। यसका लागि सम्पूर्ण तयारी पूरा भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

माओवादी केन्द्रले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोसेढुंगा साबित हुने विश्वास लिइएको छ। समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादी केन्द्रले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारा  तय गरेको छ। 

माओवादी केन्द्रले वडा समिति चयन गर्दा सकेसम्म सर्वसम्मतीमा गर्न भनेको छ। निर्वाचन हुने अवस्था आएका खण्डमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रूपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरिएको छ। 

वडा सम्मेलनका क्रममा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्नसक्ने नयाँ एवं रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ।’

माओवादी केन्द्रले यही मंसिर ११ गते सबै पालिकामा र २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दै छ। आगामी पुस ११, १२ र १३ गते माओवादी केन्द्रले काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी छ। ​

माओवादी केन्द्रले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समितिको व्यवस्था गरेको छ। 

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले वडाको नेतृत्व चयन गर्दा सकेसम्म सर्वसम्मत र नसके मात्रै निर्वाचन गर्नेगरी नीतिगत व्यवस्था गरिएको जानकारी दिए। 

रासससँग उनले भने, ‘सर्वसम्मत नेतृत्व चयन भयो भने निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ। यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौँ। त्यसका लागि आवश्यक व्यवस्था गरिएको छ।’

उनका अनुसार शनिबार देशभरका ६ हजार ७४३ वटा वडामा सम्मेलन गर्ने तयारी पूरा भएको छ। माओवादी केन्द्रले हालसम्म आफ्नो पार्टी सदस्यको संख्या झन्डै ८ लाख पुगेको जनाएको छ। केही विवरण प्रविष्ट गर्न बाँकी रहेको पार्टीले जनाएको छ।