२०८३ जेष्ठ ७ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ७ बिहीबार

कपिलवस्तुको कृष्णनगरमा रहेको मुस्लिम बिद्यालय जामिया सिराजुलवलुम अलसल्फिया मदरसा झण्डानगरमा बुधवारबाट अर्धवार्षिक परीक्षा शुरु भएको छ । कोभिड १९ संक्रमणको जोखिम अझै रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर परिक्षामा करिव ८०० जना विद्यार्थी सहभागी भएका छन ।

परिक्षा बिहान र दिउँसो गरि २ चरणमा सञ्चालन गरिएको र बिद्यार्थी तथा शिक्षकहरुलाई अनिवार्य मास्क तथा सेनिटाईजरको प्रयोग पछि मात्र परिक्षामा सामेल गराईएको मदरसाका प्रवक्ता मौलाना मसहुद खाँ नेपालीले बताए । सामाजिक दुरि कायम गरि बिहान ८ः३० बाट १०ः३० बजेसम्म र दिउँसो १ः३० बाट ३ः३० बजेसम्म परिक्षा सञ्चालन गरिने प्रवक्ता खाँले जनाए ।


मदरसाका अध्यक्ष समिम अहमद नदवीका अनुसार कोभिड १९ का कारण नेपाल सरकारले गरेको लामो लकडाउनको समयमा पनी शिक्षकहरुले गरेको मेहनतका कारण परिक्षा गराउन सम्भव भएको हो । भाईरसको संक्रमण फैलीन नदिनका लागी बन्द रहेको मदरसा मंसिर ६ गत्तेबाट संचालनमा आएको थियो ।

साथै मदरसा बन्द भएपनी निरन्तर रुपमा अनलाईन कक्षा संचालन गरिएका कारण पनी परिक्षाको लागी केहि सहज भएको अध्यक्ष नदवीको भनाई छ ।

साथै बिहानको परिक्षामा कृष्णनगर नगरपालीकाका शिक्षा शाखा प्रमुख बलराम पन्थीले बिद्यालयका कर्मचारि तथा पत्रकार सहितको टोलीका साथ परिक्षा हलमा पुगेर परिक्षा अवलोकन गर्नुभएको छ ।

गृह मन्त्रालयले प्रवेशाज्ञा (भिसा) दुरुपयोग गरी इसाई धर्म प्रचारमा संलग्न बेल्जियमका एक दम्पतीलाई निष्काशन गरेको छ । उनीहरूले ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा अध्ययनका लागि भिसा लिएका थिए । मन्त्रालयको पुस १६ को ‘सचिवस्तरीय’ निर्णयले वाल्टर स्भेन र लुसिन इभेलियनलाई पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको हो ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले उनीहरु अर्काे साता (पुस २६) मा फर्किन लागेको जानकारी दिए । स्भेन र इभेलियन दम्पतीले हवाई टिकटलगायत आवश्यक कागजपत्र विभागमा पेस गरेका छन् ।

धर्म प्रचार गरेको पुष्टि भएपछि निष्काशन गर्न प्रक्रिया अघि बढाउन लाग्दा उनीहरूले अध्यागमनका कर्मचारीलाई अदालत जाने धम्की दिएका थिए । धर्म प्रचार र परिवर्तन गराउँदै हिँड्नु नेपालको संविधानविपरित भएकाले निष्काशन गर्नुको विकल्प नरहेको भनेपछि उनीहरू विभागले तोकेको जरिवाना तिर्न तयार भएका थिए । त्यसपछि विभागले निष्काशन प्रक्रिया अघि बढाउन उनीहरुको विस्तृत विवरण मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले विभागको प्रस्ताव सदर गरेको हो । अन्नपुर्ण पोष्टबाट…

पछिल्लो २४ घण्टामा ६ हजार ७०६ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा ४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बुधबार कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ९९ पुगेको छ। आजै थप ४९५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ। यो निको हुने दर ९७.३ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ। यस्तै अहिले ३४२ जना क्वारेन्टिन र ५ हजार १ सय ३३ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्‍चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै मन्त्री पदबाट राजीनामा दिएका हुन् । ओली पक्षले उनलाई केन्द्रीय सदस्यसमेत मनोनित गरिसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–माधव पक्षको बहुमत छ । सुरुदेखि नै ओली पक्षको समर्थन गर्दैका आएका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई यसअघि नै मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाइसकेका छन् ।

नेपाल र भारतबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक माघ पहिलो साता हुने तय भएको छ । उच्च कुटनीतिक स्रोतका अनुसार उक्त बैठक नयाँ दिल्लीमा माघ १ र २ गते हुनेछ ।

त्यसका लागि कामचलाउ सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली जाने छन् । ‘थप केहि घटना नभए, तोकिएकै मितिमा बैठक हुने लगभग पक्का छ,’ कुटनीतिक स्रोतले भन्यो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर नेपालको आन्तरिक राजनीतिमा उथलपुथल भएपछि परराष्ट्र मन्त्री ज्ञवालीको भारत भ्रमणमा अन्योल देखिएको थियो ।

नेपालको प्रस्ताव अनुसार नयाँ दिल्लीले पनि माघको पहिलो साता परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक गर्न तयार भएको हो । यसअघि मंसिर र त्यसपछि पुसमा उक्त बैठक गर्ने भनिए पनि दुवै पक्षबीच एउटै मितिलाई लिएर सहमति नहुँदा पनि बैठक बस्न नसकेको हो ।

यस पटक संयुक्त आयोगको मुख्य एजेन्डा नेपालले यसवर्ष जारी गरेको नयाँ चुच्चे नक्सा रहेको छ । नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा गरी गरे पनि त्यहाँको भू-भागमा भारतीयहरु नै रहेका छन् । भारतसँग भू-भाग फिर्ता ल्याउने विषय बैठकको मुख्य एजेन्डा हुने एक अधिकारीले बताए । कान्तिपुरबाट…

कारको ठक्करबाट पाटेबाघको मृत्यु भएपछि ठक्कर दिने कारका चालकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्रविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो ।

बारा जिल्ला अदालतमा उनीविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ । घटना भएकै दिनबाट उनलाई नियन्त्रणमा राखी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी रमेश यादवले जानकारी दिए ।

निकुञ्जमा कार्यरत रेञ्जर दीपक तिवारीलाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिइएको छ । उनले मिश्रसँग बयान लिने लगायतका कार्य गरिरहेका छन् । निकुञ्जले घटनाबारे अनुसन्धानपछि प्रतिवेदन तयार गरेर मिश्रलाई अदालतमा पेस गर्ने छ ।

गत शनिबार बिहान ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा. १६ च ८११ नम्बरको कारले आधाभार जंगल क्षेत्रमा पोथी पाटेबाघलाई ठक्कर दिएको थियो । सडक पार गर्न उफ्रिएको बाघको टाउकोमा कारले ठक्कर दिएको थियो । टाउकोमा ठक्कर लागेपछि बाघको घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै कार चालक मिश्र स्वयंले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रै भएर पथलैयादेखि हेटौंडा जाने सडकमार्ग छ । जसले गर्दा वर्षेनी जंगली जनावरहरु गाडीको ठक्करबाट मर्ने गरेका छन् ।

नेपालमा बाघ, गैंडा, जंगली हात्ती, सालक, ब्वाँसो, हाब्रे, अर्ना लगायत २६ जातका स्तनधारी, डाँफे मुनाल लगायत ९ जातका चरा, घर्सने प्रजातिमा अजिङ्गर, घडियाल गोही र सुन गोहरीलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा संरक्षित वन्यजन्तु मार्ने विरुद्ध कारबाहीको व्यवस्था छ । ऐनमा गैरकानुनी तरिकाले गैंडा, बाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरी गाई मार्ने, घाइते बनाउने, खरिद–बिक्री गर्न वा हस्तान्तरण गरी लिनदिन प्रतिबन्ध लगाइएको छ ।

गैंडाको खाग वा कस्तुरीको बिना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद–बिक्री गर्ने वा ओसारपसार गर्न नपाइने उल्लेख छ । त्यस्तो व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने प्रावधान छ । अनलाईनखबरबाट

सरकारले संसद् विघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सर्वोच्च अदालतमा परेका १२ वटा रिटमाथिको सुनुवाई संवैधानिक इजलासमा निरन्तर हुने भनिए पनि बुधबार भएको सुनुवाइपछि एक हप्ताका लागि स्थगित गरिएको छ।

संवैधानिक इजलासमा रहेका न्यायधीश हरिकृष्ण कार्कीले आफ्नो भूमिकामाथि प्रश्न उठेको भन्दै इजलासमा नबस्न स्वआदेश गरेपछि बुधबारको सुनुवाई स्थगित भएर पुस २९ का लागि अर्को पेशी तोकिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ मा कार्की महान्यायधिवक्ता नियुक्त भएका थिए। महान्यायधिवक्ता प्रधानमन्त्रीको कानूनी सल्लाहाकारको भूमिकामा रहन्छन्।

अहिले संसद् विघटनविरुद्धको रिटमा प्रधानमन्त्री ओलीलाई पनि विपक्षी बनाइएको छ। कुनबेला ओलीका कानूनी सल्लाहाकार रहेका न्यायधीश कार्कीले यो मुद्दा हेर्न नमिल्ने भन्दै बुधबारकै इजलासमा रिट निवेदकका पक्षबाट बहस गर्ने कानून व्यवसायीले प्रश्न उठाएका थिए।

त्यसपछि न्यायधीश कार्कीले इजलासमा नबस्ने स्वआदेश गरेका हुन्। अब प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाले संवैधानिक इजलासका लागि अर्को न्यायधीश चयन गर्नुपर्ने छ। त्यसो त संवैधानिक इजलासमा वरिष्ठ न्यायधीशहरुको पालो मिचेर अन्य न्यायधीशलाई राखिएको भन्दै न्यायधीश चयनको विषयमा पनि बहस भइरहेको छ।

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो ।

नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ ।

दक्षिण कोरियाले विकास गरेको उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ । युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुने गर्दछ ।

संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ । त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सउलबाट बुसान तथा देशमा जुनकुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ ।

सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ । सदरमुकाम मलंगवा नगरपालिका वडानम्बर(१ भेडहिया निवासी पप्पु मण्डलका २ वर्षीय छोरा बजरंगी मण्डलको घर अगाडिको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्ने क्रममा मंगलबार साँझ नालामा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

त्यस्तै सर्लाहीमा आफैंले चलाएको मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडा नम्बर – २ बस्ने रामएकबाल राय यादव छन् । यादवले चलाएको बीआर३०एल ८०४५ नम्बरको मोटरसाइकल बलरा नगरपालिका ४ स्थित गडहिया बलरा सडक खण्डमा आफैं अनियन्त्रित भई पल्टिएको हो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय धुलिखेल मेडिकल अस्पताल बलरा लग्ने क्रममा बाटोमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

गुहेश्वरी मन्दीरको अगाडि आएर उ गर्ल्याम्म लड्छे । होस खुल्दा आफु जिवित रहेको थाहा पाउँछे्, कक्रक्क परेका हातले आफैलाई छामेर महसुस गर्ने प्रयास गरि । टुक्रुक्क बसि र आँखाले भ्याएसम्म यता उती हेर्न खोजि । हप्तादिन देखिको भोको पेट, ज्यानमा तागत छैन । मनमा छुट्टै किसिमको बेचैनी छ, हर्कमायाले कतिखेर लड्न पुगेँ ठम्याउन सम्म सकिरहेकी छैन ।

दिल, दिमाग र आँखाले खोजिरहेको छ त केवल एउटा मान्छे । पट् पट् फुटेका कुर्कुचा, मासिदेखि नै गलिसकेका गोडा, सुकेको घाटी अनि त्यो रित्तो गोजी । उमेरले ६२ नाघेकी हर्कमायाको मन कसैको खोजीमा छ, कसैको पर्खाइमा छ । घिटि घिटि बाँच्नलाई मात्र चलिरहेको श्वास कसैसँगको मिलनका निम्ति मात्र तड्पिरहेको छ ।

वरीपरका बाँदरले पनि उसलाइ छोएका छैनन्, किनकि उ सँग केहि पनी छैन । छ त केवल एक मुठि सास्, त्यो पनी अरु कसैको नाउँमा समर्पित छ, अरु कसैको खोजिमा अर्पित छ ।
खै के के सोचि, मन कुँडिएर आयो, आँशु रित्तिसकेका आँखाहरुले पनी रसाउने जमर्को गरे तर आँसु सुकिसकेका आँखाले रुन मानेनन् ।

दाँत बानेर आँखा चिम्म गरि, अनायासै हात पसारिए । एतिकैमा उसको हातमा कसैले केहि नोट थमाइदियो । उ हात थापिरही । दिनको २ बजेको हुँदो हो । मन्दीरमा आउने भक्तजनको चहलपहल बिस्तारै कम भएको महसुस गरि । उसले आँखाहरु विस्तारै खोलि । वरीपरी केहि नोटहरु थिए, बिश्वास लागेन । बिस्तारै पछाडि हेरि, एउटा रुख थियो अनि फेरि अगाडि फर्किएर ति पैसाहरुलाई केहि बेर हेरिरही र छामि । पक्का नोट नै थियो ।

मनमा हर्ष होकि खोई के हो, के हो ? एक्कासि छटपटि भयो, अनेक कुरा आए । पैसा सबै टिपि, अझै छन कि भनेर हेरि । हातभरि पैसाको मुठो भयो । ज्यानमा केहि तागत भरिए जस्तो भयो, सायद अव टन्न खान पाउँछु भनेर होला । लरखराउँदै उठि र अगाडि बढि । दामपेटारि परेका पेटले धेरै खान त मानेन् तर जति खाई मजैले खाई । किनकी पेटले नमागेपनी मनले हतारिएर लोभ गर्दै थियो अझै । झुत्रोझाम्रो लुगा, भोकले कटमेरिएको पेट, तागत नभएको चाल र कसैको खोजिमा मैलीएको अनुहार । बाहिरै कतै कुनामा बसेर खाएको पैसा तिरेर बाँकी पैसा राखि ।

अघाएको पेट, साथमा पैसाको मुठो । बुढो शरिर आश्रमतिर लाग्यो । आश्रममा उनलाई बस्ने अनुमती भएन । किनकि त्यहाँ त जागिरेहरुले पैसा तिरेर आफन्त राख्ने गर्थे । तर उ सँग त न कोहि आफन्त थिए न त पैसा नै । उ त्यहाँबाट जुरुक्क उठेर पशुपतिको एउटा भत्किएको मन्दिरमा पुगी । विगतका सुख दुःख सम्झिँदा सम्झिँदै भुसुक्क निदाई ।

मन्दिरमा सबेरै देखि भक्तालुको चहल पहल सुरु भईसकेको हुन्छ । उनका आँखा पनी खुल्छन । झिसमिसेमै भिडहरुमा आफुले खोजेको अनुहार ठम्याउने प्रयास गर्छे, तर सक्दिन ।

आज बिहानै हर्कमायाले हिजो खाएर बचेको पैसा गन्छे । ४ हजार जति रहेछ । उनमा संसारै जित्ने खाल्को जोस पलायो । किनभने त्यत्रो पैसा नबोकेको त कयौँ समय भईसकेको थियो । त्यो पैसाले अब उनले आफुलाई छोडेर गएको श्रीमान खोज्ने निधो गर्छे । उनलाई ब्लड क्यानसर भएको छ, आजैका मितीले अव यो धर्तीमा उनले लगभग १० दिन मात्रै बाँच्नु छ ।

जिवनको अन्तिम क्षणसम्म सँगै जिउछु, सात जुनिसम्म साथ निभाउँछु भन्नेले सन्तान नभएपछि छोडेर सहर पसेका हुन्छन् । अर्कै श्रीमतीसँग घरजम बसाएर श्रीमानले हर्कमायालाई विर्सिसकेका छन्, तर जिवनको अन्तिम घडिमा ६ दशक देखि टाढा रहेका रामबहादुरलाई भेटेर मर्ने उनको ठुलो धोको छ ।

उनी पनी त स्वास्नि मान्छे हुन, सिन्दुर पोते र श्रीमानको सुहाग लिएर यो समाजमा निर्धक्क बाँच्ने र बुढेसकालसम्मै सँगै बस्ने रहर उनमा पनी त थियो होला । सात जुनीसम्म अरुको बन्न नपरोस भनी देउराली भाकेर कसम खाएका श्रीमानले थारि भन्दै अर्कै लिएर शहर पसेको पिडालाई सहेर हर्कमाया कसरि बाँचेकी छिन भन्ने कुरा कि त उनलाई था छ, कि त केहि नबोली शान्त बस्ने त्यो जुनलाई था छ । पहिलाका बाचा कसम हर्कमायाले अहिले सम्म भुलेकी छैन । र त श्रीमानको काखमा प्राण त्याग्ने संकल्पमा मृत्युलाई सम्म नटेर्दै आफ्नो श्रीमानको खोजिमा निस्किएकी छिन ।

उनको मनमा डर पनि छ । कतै मैले रामबहादुरलाई नचिन्ने पो हुँ कि ? तर फेरी मनको शंकालाई मनकै बतासले उडाउँछ । झसंग हुँदै दाहिने पाखुराको चिनो सम्झिन्छे । हिड्दै गर्दा थाकेकी उ हिजोकै वृद्धाश्रममा आइपुग्छे । आश्रममा भेट्न आएका केहिले उनलाई खानेकुरा र कपडा दिन्छन् ।

उ आज अब हिड्न नसक्ने भाकी छ । दिउँसोको ४ बजिसक्यो । निभ्न जागेका सूर्यका किरणहरु मन्द बिलाउँदै गएका छन्, तरपनी जानु छ । किनकी यहाँ बस्न दिँदैनन् । थकित्त शरिर, थकित्त मन, जुरुक्क उठेर पाइला अघि सार्न खोज्छे, एउटा मैलो, बुढो अनुहार अगाडि आउँछ । कतै देखे जस्तो, कतै चिने जस्तो । ठम्याउने प्रयत्न गर्छे । केहिबेर हेराहेर गर्छन । हर्कमाया झसंग झस्किँदै ति बृद्धको पाखुरामा हेर्न पुग्छे । पृथ्वी नै हल्लिएजस्तो, चट्याङ परेजस्तो, अँध्यारो भएजस्तो खोई के भो के भो । खुट्टा काम्यो, हर्कमायाले गर्ल्याम्म अंगालो हाली र छातीमा मुहार धसार्दै रोई । आँशु सुकिसकेका आँखामा आँसु बगे, राम बहादुर मलाई छोडेर किन आयौ ? भन्दै हर्कमाया निकै बेर रोई ।

उ साँच्चै रामबहादुर नै थियो । एक अर्कालाई सुमसुम्याउँदै दुबै निकै बेर रोए । रामबहादुरका दुई छोरा भएछन कान्छी श्रीमतीबाट । कान्छो छोरो अमेरीका रहेछ, जेठो पनि मनमुटाव भएर छुटिएछ । कान्छी श्रीमतीलाई छोरोले अमेरीका नै लगेको रहेछ, ति रामबहादुर १० वर्ष देखी त्यही आश्रममा बस्दा रहेछन् ।

राम बहादुर सास रोकेर हुँक्क हुँक्क गर्दै बोल्यो, हेर जेठी तलाई मैले धेरै दुख दिएँ, अब …….यस्तै खोई के के, के के भन्दै थियो, हर्कमायाले सुनैकी थि कि थिईन । उ गल्र्याम्म भुईमा पछारिन्छे । राम बहादुर अत्तालीन्छ, हर्कमायालाई उठाउन खोज्छ, गुहार माग्न थाल्छ । तर उ चटपट गर्दिन, केहि बोल्दिन, ज्यान बिस्तारै मुढा हुँदै गयो । उनको सुर्य अस्तायो ।

जिवनको अन्तिम घडिमा भेटिएका श्रीमान सँग अझै कति कुरा साट्न बाँकी नै हुँदो हो, छोडेर जाने रामबहादुरका पनी कति कुरा साट्न बाँकी नै थिए होलान् तर जिवनभर तड्पिएर बाँचेकी हर्कमायालाई अवको साथको के अर्थ थियो होला र ! तर पनी हर्कमायाको चोखोमायाले जित्यो, उनले आफ्नो श्रीमानकै काखमा प्राण त्याग्न पाई ।

पत्निको पतिब्रता धर्म निभाएर उसकै न्यानो स्पर्समा तड्पिरहेकी हर्कमायाले ठुलो युद्ध जित्दै श्रीमानको अंगालोमा प्राणपखेरु त्यागीन् । बाँचुञ्जेल हर्कमायालाई तड्पाएको पाप अव राम बहादुरलाई लाग्ने छ, अब अनेक कुरा सम्झिएर रामबहादुर त्यहि आश्रममा पल पल मर्दै मृत्यु पर्खिरहनेछन् ।

अञ्जना सुवेदी/सर्लाही ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।