२०८३ कार्तिक १३ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १३ बिहीबार

सर्पदंशबाट वैशाखयता ११३ जनाको मृत्यु

सर्लाही । पछिल्लो ६ महिनामा सर्पले टोकेर नेपालमा एक सय १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार यो मृत्यु संख्या वैशाखदेखि हालसम्मको हो । यस अवधिमा १६ सय ४९ जनालाई सर्पले टोकेको थियो ।

आर्थिक वर्ष २०७९/८० मा ९ हजार १२० वटा सर्पदंशका घटनाहरू दर्ता भएका थिए भने आर्थिक वर्ष २०८०/८१ मा यो सङ्ख्या घटेर ८ हजार १८१ मा झरेको थियो ।

तर, २०८१/८२ मा आइपुग्दा सर्पदंशका घटनाहरू बढेर १० हजार १४४ पुगेको छ ।  २०८१/८२ को तथ्याङ्क हेर्दा नेपालका विभिन्न प्रदेशहरूमा सर्पदंशको जोखिम भिन्नभिन्न पाइएको छ, यस अवधिमा कोशी प्रदेशमा सबैभन्दा धेरै २ हजार ९८३ वटा सर्पदंशका घटना रेकर्ड भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ४०७, गण्डकीमा १ हजार ४५६, मधेसमा १ हजार ३६६ र बागमतीमा १ हजार २३६ वटा घटनाहरू भएका छन् । भौगोलिक रूपमा विकट मानिएका तथा अन्य प्रदेशहरूको तुलनामा कम जनसङ्ख्या वा फरक वातावरण भएका प्रदेशहरूमा भने सर्पदंशका घटना केही कम देखिएका छन् ।

२०८१/८२ को तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा ३७४ र कर्णालीमा ३२२ वटा सर्पदंशका घटनाहरू दर्ता भएका छन् । बढ्दो सर्पदंशका घटनाहरूलाई मध्यनजर गर्दै यसको रोकथाम र समयमै उपचारका लागि सम्बन्धित क्षेत्रमा सचेतना तथा स्वास्थ्य सेवा विस्तार गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् । देशभर १०३ ओटा सर्पदंश उपचार केन्द्र छन् ।

ईडीसीडी जुनोटिक तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा. अमृत पोखरेल जलवायु परिवर्तन, वनविनाश र सर्पको प्राकृतिक बासस्थानमा आएको फेरबदलका कारण सर्पदंशका बिरामी बढेको बताउँछन् । ‘सर्पले टोकेपछि झारफुक गरे ठिक हुन्छ भन्ने विश्वास छ । त्यसैले विरामीहरू उपचारका लागि ढिलो आउनुहुन्छ, अर्को कुरा सचेतना अभाव छ ।’

सर्पले टोकिहाले के गर्ने ?

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सर्पको टोकाइबाट जोगिन राति हिँड्दा टर्च लाइट बाल्ने, जुत्ता वा गम बुट लगाउने तथा खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउनुपर्ने सुझाव दिएको छ ।

केन्द्रले घर वरपरका घाँस र झारपात काटेर सफा राख्ने, जमिनका दुलाहरू टाल्ने, पराल वा दाउरा लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने तथा सधैँ झुल टाँगेर सुत्ने सावधानी अपनाउनुपर्ने कुरामा जोड दिएको छ ।

यदि कसैलाई सर्पले टोकिहालेमा अपनाउनुपर्ने सावधानीहरूबारे जानकारी दिँदै मन्त्रालयले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्नुपर्ने र टोकेको ठाउँमा काट्ने, चुस्ने वा बाँध्ने काम गर्न नहुने बताएको छ ।

मलम, रासायनिक पदार्थ, तातो वा चिसो प्रयोग नगरी धामी–झाँक्रीकहाँ नलागी बिरामीको आत्मविश्वास कायम राख्नुपर्ने हुन्छ । विष सोस्ने ढुङ्गाको पछि नलागी सम्भव भएसम्म सर्पको पहिचान गर्ने तर मार्न नहुने तथा जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्प उपचार केन्द्रमा पुर्‍याउनुपर्ने कुरामा विशेष ध्यान दिन आग्रह गरेको छ ।  

सर्पदंश रोकथाम कार्ययोजना कार्यान्वयनमा

नेपालमा सर्पदंशका घटनाले गम्भीर रूप लिन थालेपछि सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि ‘सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ कार्यान्वयनमा ल्याएको छ । विशेषगरी मधेश, कोशी, लुम्बिनीलगायत विभिन्न जिल्लाहरु सर्पदंशको उच्च जोखिममा रहेको यस कार्ययोजनामा औंल्याइएको छ ।

उपचार केन्द्र पुग्न हुने ढिलाइ, धामी–झाँक्री तथा अन्धविश्वासमा आधारित गलत उपचार पद्धति, एन्टिभेनमको सीमित उपलब्धता र दक्ष जनशक्तिको कमीले गर्दा मृत्युदर उच्च रहेको तथ्य बाहिर आएको छ । यसैलाई मध्यनजर गर्दै कार्ययोजनाले उच्च जोखिम क्षेत्रको नक्सांकन, एन्टिभेनमको पर्याप्त मौज्दात, आपत्कालीन उद्धार तथा रेफरल प्रणालीको सुदृढीकरण जस्तैः मोटरसाइकल एम्बुलेन्स सेवा र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिलाई मुख्य रणनीति बनाएको छ ।

सर्पदंशबाट हुने क्षति न्यूनीकरण गर्न स्थानीय तह, विद्यालय तथा समुदायस्तरमा बहुभाषिक सचेतना अभियान, घर वरपरको सरसफाइ, झुलको प्रयोग र सुत्नुअघि ओछ्यान जाँच गर्ने जस्ता पूर्वतयारीका उपायहरू अपनाउन जोड दिइएको छ ।

रणनीतिमार्फत सर्पले टोकिहाले नआत्तिई बिरामीलाई तुरुन्तै नजिकको उपचार केन्द्र वा अस्पताल पुर्‍याउनुपर्ने तथा टोकेको ठाउँमा काट्ने, चुस्ने, बाँध्ने वा धामी–झाँक्रीकहाँ लगेर समय बर्बाद गर्नेजस्ता घातक अभ्यासहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने कडा अपिल गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।