चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।
गत वर्षजस्तै यस वर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले मन्दिरहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।
अयोध्यापुरीमा राम-सीताका मूर्ति प्रतिस्थापन गरिँदै
यसैबीच चितवनको माडीस्थित अयोध्यापुरीमा राम-सीताको मूर्ति आज प्रतिस्थापन गरिँदै छ । प्रतिस्थापन गर्ने मूर्तिहरु मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारबाट रथयात्रासहित चितवन लगिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वको रथयात्रा समूह देवघाटमा बास बसेको थियो ।
बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ रथयात्रा अघि बढ्ने छ ।
राम-सीताका मूर्ति बुधबार मध्याहृन १२ः३० बजेको साइतमा प्रतिस्थापन गर्ने तयारी छ । मूर्ति प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको छ ।
प्रधानमन्त्री ओलीले गत असारमा रामको जन्म अयोध्यापुरीमा भएको दाबी गर्दै सो स्थानमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए । अनलाईनखबरबाट…
नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश पौडेल चयन भएका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित महासंघको पहिलो भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत, उपाध्यक्षमा सुभाष श्रेष्ठ, गोबिन्द भट्टराई, एकेन्द्र कुँवर, दिपेन्द्र दाहाल, प्रभात बिक्रम कटुवाल, मानदेव हजारा, भीम ओली, सुदर्शन गुरुङ, धुव्र आचार्य, ओम प्रसाई, चेतन राज गिरी चयन भएका छन् ।
महासचिवमा मेघराज पौडेल चुनिएका छन् भने सचिवमा वासु नेपाल, सन्तोष वान्तावालगायतका ७ जना छन् ।
महासंघको केन्द्रीय कमिटी ५५१ सदस्यीय बनाइएको छ । कमिटी पत्रकार सम्मेलन गरी घोषणा गर्ने तयारी रहेको बताइएको शिलापत्रमा समाचार प्रकाशित छ ।