युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान सतप्रतिशत जितसहित समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
आइतबार राति भएको समूह दुईको अन्तिम तथा पाँचौं खेलमा स्कटल्याण्डलाई ७२ रनले पराजित गरेपछि पाकिस्तानले १० अंक जोडेको थियो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानका क्याप्टेन बाबर अजाम र शोएब मलिकको अर्धशतक मद्दतमा १९० रनको लक्ष्य लिएको थियो । तर स्कटल्याण्डले पूरै ओभर खेल्दै ६ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो ।
पाकिस्तानसँगै यो समूहबाट न्यु जिल्याण्ड पनि सेमिफाइनल पुगिसकेको छ । ८ अंकका साथ न्यु जिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
भारत भने एक खेल बाँकी हुँदै समूह चरणबाटै बाहिरिसकेको छ । दुई खेल जितेको भारतको ४ अंक रहेको छ । यो समूहमा अफगानिस्तानको पनि ४ अंक नै रहेको छ । नामिबियाको दुई अंक छ भने स्कटल्याण्ड अंकविहीन हुँदै बाहिरिएको छ ।
भारत र नामिबियाको अन्तिक खेल आज हुँदैछ ।
सेमिफाइनल खेल २४ र २५ गते हुँदैछ । पहिलो खेल न्यु जिल्याण्ड र इंग्ल्याण्डबीच हुनेछ भने पाकिस्तानले २५ गते अष्ट्रेलियासँग खेल्ने छ । दुई खेलका विजेताबीच यही कात्तिक २८ गते फाइनल प्रतिस्पर्धा हुनेछ ।
सर्वेक्षणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक विश्वको सबैभन्दा लोकप्रिय नेता चुनिएका छन्।
अमेरिकी कम्पनी द मर्निङ कन्सल्टको अनुमोदन रेटिङमा प्रधानमन्त्री मोदी ७० प्रतिशतका साथ सबैभन्दा लोकप्रिय नेता चुनिएका हुन्।
यसपटक प्रधानमन्त्री मोदीको अनुमोदन रेटिङ जुनमा जारी गरिएको अप्रुभल रेटिङभन्दा उत्कृष्ट देखिएको भारतीय संचारमाध्यमले जनाएका छन्।
यो रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं नम्बरमा छन् भने बेलायती प्रधानमन्त्री बोरिस जोन्सन १० नम्बरमा छन्। मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर प्रधानमन्त्री मोदीपछि दोस्रो नम्बरमा छन्।
विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ। कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो। यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ।
छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ। यस दिन एक छाक मात्र खाइन्छ। व्रतालुले आजदेखि सप्तमीसम्म माछा, मासु, लसुन, प्याज, कोदो आदिको भोजन गर्दैनन्। यो चार दिन व्रतालुले सात्विक भोजन मात्र गर्दछन्। कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ।
छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई)को पूजा गरिन्छ। देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ। छठलाई एउटा कठिन व्रत र उपवासको रुपमा हेरिन्छ। छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास रही आएको छ।
यो पर्व तराई मधेशसहित पछिल्लो दशकदेखि काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ। नेपालमा मात्र नभइ भारतमासमेत धुमधामका साथ मनाइन्छ। अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्सोल्लासका साथ मनाइने गरिन्छ।
परापूर्वकालदेखि नै छठ पर्व मनाउने गरेको इतिहास छ। त्रेतायुगमा रानी कौशल्याले छठको व्रत लिएको कुरा रामायणमा उल्लेख गरिएको छ। त्यस्तै द्वापर युगमा चौध वर्षको वनवास बसेको समयमा कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको प्रसंग महाभारतमा उल्लेख छ।
कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको व्रतलाई समापन गरिन्छ।