सर्लाही | एनएमबि बैंक लालबन्दी शाखाले लालबन्दी –१, नवलपुरमा रहेको लर्ड ब्राईट स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शुक्रवार वित्तीय साक्षरता तथा डिजिटल सचेतना सम्बन्धि प्रशिक्षण दिएको छ ।
विद्यार्थीहरुलाई विद्यमान बैकिङ्ग प्रणाली सम्बन्धि ज्ञान दिने उद्देश्यले ‘वित्तीय साक्षरता तथा डिजिटल सचेतना कार्यक्रम’ सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक अरुण आचार्य बताउनुभयो ।
विद्यार्थीहरूलाई बैंकका अपरेसन इन्चार्ज अमृत अन्सुले बैंक परिसरमै प्रशिक्षण दिएका प्रबन्धक आचार्यले जानकारी दिनुभयो ।
वित्तीय साक्षरता तथा डिजिटल सचेतना प्रशिक्षण कार्यक्रमबाट कक्षा –९ मा अध्ययनरत विद्यार्थीहरु लाभान्वित भएका विद्यालयले जनाएको छ ।
सर्लाही | जिल्लामा मतदाताको संख्या बढेको छ । आगामी चुनावमा सर्लाहीमा पौनो ५ लाख बढीले मतदान गर्न पाउने छन् । २०७९ साल वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सर्लाहीबाट ४ लाख ७५ हजार ९७१ जनाले मतदान गर्न पाउने भएका हुन् ।
मतदाता नामावली अध्यावधिक पछि सो संख्यामा केही तलमाथि भएपनि सामान्यतया यही संख्या कामय रहन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २०७४ मा भएको निर्वाचनका बेला सर्लाहीमा मतदाताको संख्या तीन लाख ८५ हजार थियो ।
९ ओटा गाउँपालिका र ११ ओटा नगरपालिका गरी सर्लाहीमा देशमै सबैभन्दा बढी २० ओटा स्थानीय तह रहेका छन् । जिल्लामा यस पटक पनि साविकको ३१८ मतदान स्थल नै कायम हुनेछ । तर मतदान केन्द्र भने साविकभन्दा केहीमा संख्या थप हुनेछ । गएको निर्वाचनमा ५१६ मतदान केन्द्र रहेको सर्लाहीमा यस पटक सो संख्या बढेर ५४३(निर्वाचन आयोगले तोक्न बाँकी) हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिकको कार्य फागुन १९ गते देखि २६ गतेसम्ममा गरिसक्ने जनाएको छ ।
जसअन्तर्गत फागुन १९ गते जिल्लाका २ सय ओटै वडा कार्यालयहरुमा अहिले सम्मको अन्तिम नामावली पठाईने छ । फागुन २० गते मतदाता नामावलीमा भएको त्रुटी सच्याउने, नामावलीमा कसैले झुट्टा विवरण दिएको भए सो को विरुद्ध उजुरी गर्ने, कुनै एक मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए त्यसलाई सच्याउने, मृत्यु भई सकेका मतदाताको नाम हटाउन सूचना दिने, मतदाताको मृत्यु भएको हो होईन प्रमाणित गराउने, झुट्टा विवरणका सम्बन्धमा उजुरी परेको भए त्यसको सफाई दिने र नागरीकता त्याग गरेका व्यक्तिहरुको नाम समेत नामावलीबाट हटाउने लगायतका काम गरी २५ गते अन्तिम नामावली प्रकाशन गर्ने र २६ गते सो नामावली निर्वाचन आयोगमा पठाउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निमित्त निर्वाचन अधिकारी दिवाकर भुजेलले बताए ।
‘फागुन १९ देखि २६ गते सम्ममा मतदाताको अन्तिम नामावली आयोगमा पठाई सक्ने कार्यक्रम छ । सामान्यतया मृत्युभएकाहरुको स्थानीय पञ्जीकाधिकारीहरुबाट प्रमाणित गराउने, नामवलीमा नाम ठेगाना त्रुटी भएको भए, बसाईँ सरेको भए त्यसलाई सच्याउने काम गरिन्छ ।’, निमिति निर्वाचन अधिकारी भुजेलले भने,‘कसैको दाबी विरोध परेमा त्यसको सफाई दिने काम समेत गरिन्छ, अध्यावधिकका क्रममा हाल कायम रहेको संख्यामा केही तलमाथि हुन सक्छ ।’
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तिनै सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि, जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सर्लाही | मानवताका लागि सामाजिक सेवामा सकृय लालबन्दी जेसीजले शुक्रवार साँझ एक कार्यक्रमका विच खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा नं ७ डुमडुमे मन्दिर देवालय परिसरमा रहेको लालबन्दी गुरुकुलमका लागि १८० केजी चामल, ५० केजी आलु, १० लिटर खानेतेल, १० केजी दाल, १० केजी नुन लगायतका खाद्य सामाग्री हस्तान्तरण गरिएको लालबन्दी जेसिजका महासचिव मनोज बख्रेलले जानकारी दिनुभयो ।

जेसिजका उपाध्यक्ष सुमन थापाको संयोजकत्वमा खाद्यान्न हस्तान्तरण गरिएको हो । उक्त समारोहमा संस्थाका अध्यक्ष सन्तोष पौडेल, निवर्तमान अध्यक्ष श्याम कुमार खड्का, सस्थापक अध्यक्ष किरण घिमिरे एवं लालबन्दी जेसीज बर्ष २०२१ र २०२२ का अधिकांस पदाधिकारीको उपस्थिति रहेको कार्यक्रम संचालक संस्थाका कानुनि सल्लाहकार सरोजबाबु न्यौपानेले बताउनु भयो ।
संस्थापक अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यतामा समपन्न कार्यकममा दाताहरुलाई गुरुकुलमका प्रधानाचार्य, मुख्य ब्यबस्थापक देविबन्धु थापा, ब्यबस्थापक तथा ब्यबस्थापन समितिका सकृय व्यक्तित्व ऋषि प्रसाद सुवेदी लगायतले खादा तथा रामनामी ओढाएर स्वागत एवं सम्मान गरेका थिए ।
कार्यक्रमको सुरुवातमा शिक्षारत बटुकहरुबाट स्वस्ति वाचन गरिएको संस्थाका कोमलहरी गौतमले बताउनुभयो ।