लालबन्दी, ३१ असार । सर्लाहीको लालबन्दी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि एक अर्ब ४८ करोड हाराहारीको बजेट ल्याएको छ । लालबन्दी नगरपालिकाको नगरसभाको १६ औँ अधिवेशनको दोस्रो बैठकले बुधबार सो बजेट पारित गरेको हो । गएको ९ गते उपमेयर कल्पनामाया पाख्रिनले प्रस्तुत गर्नुभएको एक अर्ब ४७ करोड ९७ लाख ९९ हजार ३७० रुपैयाँ बराबरको बजेट आजको बैठकले सर्वसम्मत पारित गरेको हो ।
प्रस्तुत बजेटअनुसार नगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक राजस्व, नगद मौज्दात तथा अन्य निकायबाट प्राप्त हुने अनुदानलाई आयको मुख्य स्रोतका रूपमा लिएको छ । प्रस्तुत बजेटमा संघीय र प्रदेश सशर्त अनुदानबाट ४८ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसमध्ये संघीय सरकारबाट ४७ करोड ६० लाख रुपैयाँ र प्रदेश सरकारबाट ६० लाख रुपैयाँ प्राप्त हुनेछ ।
त्यस्तै, वित्तीय समानीकरण अनुदानतर्फ १७ करोड ७० लाख ३३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसमा संघीय सरकारबाट १६ करोड ५६ लाख रुपैयाँ र प्रदेश सरकारबाट १ करोड १४ लाख ३३ हजार रुपैयाँ समावेश छन् । नगरपालिकाले समपूरक अनुदानतर्फ १ करोड रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ८० लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट २२ करोड २२ लाख ६६ हजार ३७० रुपैयाँ, आन्तरिक राजस्वबाट १५ करोड रुपैयाँ तथा गत वर्षको नगद मौज्दात ८ करोड रुपैयाँ बजेटमा समेटेको छ ।
यसैगरी बजेटमा सामाजिक सुरक्षा तथा संरक्षण कार्यक्रमका लागि ३४ करोड ९ लाख रुपैयाँ, लागत जनसहभागिताबाट ३ करोड रुपैयाँ, सडक बोर्ड नेपालबाट ६५ लाख रुपैयाँ र अन्य निकाय तथा संस्थाबाट १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा सशर्त बजेट तथा कार्यक्रमतर्फ ८५ करोड ५ लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव गरेको छ । यसअन्तर्गत संघीय तथा प्रदेश सशर्त कार्यक्रम, समपूरक तथा विशेष अनुदानका कार्यक्रम, सामाजिक सुरक्षा भत्ता वितरण, सडक मर्मत, लागत जनसहभागिता तथा अन्य निकायबाट सञ्चालन हुने कार्यक्रम समावेश छन ।
त्यसैगरी निःशर्त बजेट तथा कार्यक्रमतर्फ ६२ करोड ९२ लाख ९९ हजार ३७० रुपैयाँ विनियोजन गरिएको छ । यस बजेटबाट कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २० करोड ५० लाख रुपैयाँ, बहुवर्षीय तथा भुक्तानी बाँकी आयोजनाका लागि ८ करोड ५० लाख रुपैयाँ, संघ, प्रदेश र अन्य निकायसँगको साझेदारी कार्यक्रमका लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, नगरका १७ वटै वडामा सञ्चालन हुने वडास्तरीय योजना तथा कार्यक्रमका लागि करिब ११ करोड ९१ लाख ५७ हजार ६२२ रुपैयाँ विनियोजन गरिएको छ भने नगरस्तरीय विकास कार्यक्रमका लागि करिब १७ करोड २७ लाख ७१ हजार ७४८ रुपैयाँ छुट्याइएको छ । यसअन्तर्गत आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, लघुउद्यम, महिला विकास, प्रधानमन्त्री रोजगार कार्यक्रम, सूचना प्रविधि तथा योजना व्यवस्थापन लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
प्रस्तावित बजेटमा सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वडा केन्द्रित योजना तथा नगरस्तरीय विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । साथै संघ, प्रदेश तथा स्थानीय स्रोतको अधिकतम परिचालन गरी नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने लक्ष्यसहित बजेट प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ ।
यस आर्थीक वर्षको बजेटमा सबैभन्दा धेरै वडा नम्बर १५ लाई एक करोड ४५ लाख ३१ हजार र सबैभन्दा कम वडा नम्बर १३ लाई ९७ लाख पाँच हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो बजेट अहिलेका जनप्रतिनिधिको अन्तिम बजेट हो । तर लालबन्दी नगरप्रमुख बासुदेव अधिकारीले अर्को एउटा बजेट पनि प्रस्तुत गर्न पाईने हो कि भन्ने आशंका ब्यक्त गर्नुभएको छ ।