लालबन्दी, १५ भदौ । भोटेकोशिमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गरी पालिकामा बुझाउन लालबन्दी नगरपालिकाले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायतका जिल्लाका पीडित नागरिकलाई उपलब्ध गराउन संकलन गरिएको राहत सामाग्री पालिकामा बुझाउन आग्रह गरेको थियो ।
सोही निर्णयअनुसार लालबन्दी नगरपालिकाले प्रभावित परिवारका लागि संकलन गरिएको नगद तथा वस्तुगत राहत सामग्री पालिकामा बुुझाउन भनेको हो । राहत सामग्रीमा चामल, दाल, पिठो, लत्ताकपडा, त्रिपाल, टर्चलाइट, साबुन, ब्रस, टावेल, बाल्टिन÷जग तथा शुद्ध खानेपानी लगायतका सामग्री समावेश गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नगरपालिकाले पालिकाभित्रका संघ–संस्था, व्यक्ति तथा समुदायलाई स्वेच्छाले नगद तथा राहत सामग्री संकलन गरी भदौ १७ गते बुधबारभित्र पालिकामा बुझाउन अनुरोध गरेको छ । त्यसरी संकलन भएको नगद तथा वस्तुगत राहत सामग्री भदौ १८ गते बिहीबार जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा बुझाइने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख वासुदेव अधिकारीद्वारा जारी विज्ञप्तिमा संकलित राहत सामग्री लालबन्दी नगरपालिका, वातावरण तथा विपद् व्यवस्थापन शाखामा बुझाउन आग्रह गरिएको छ ।