राप्रपाको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्रयाकमा हिँडाउन सकिन्छ: लिङ्देन

341
Friendship Mobile

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको दावी गरेका छन् । सोमबार नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै लिङ्देनले राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्रयाकमा हिँडाउन सकिने धारणा राखे । 

 लिङ्देनले केही दलका नेताले आफ्नो गल्ती र कमीकमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने गरेको बताए । उनले भने- ‘राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए ।’

अध्यक्ष लिङ्देनले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको र आपसी एकता कायम रहेको नेपाललाई अस्थिर र विभाजित गर्न विदेशीले धर्म निरपेक्षताको कार्ड प्रयोग गरेको र हिन्दु राष्ट्रको पहिचान समाप्त गर्न नेपालका राजनीतिक दल र दलका नेताहरू विदेशी षडयन्त्रको शिकार भएको जिकिर गरे। अध्यक्ष लिङ्देनले  राप्रपा जनताको भरपर्दो शक्ति बन्दै भएको तर्क गर्दै  लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध राजनीतिक शक्ति भएको दाबी गरे ।

यसैगरी राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्युनिस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासँग पर्खने समय नरहेको उल्लेख गरे
। 
 अर्का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले देशका विकृति विसंगतिका विरुद्ध जनता आन्दोलित हुनुपर्ने बेला आएको धारणा राखे । 
कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू निलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, ताहिर अली, विष्णु अधिकारी लगायतले सम्बोधन गरेका थिए ।