प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको आरोपमा MD राजा पक्राउ

198
Friendship Mobile
  • क्षितिज बिश्वकर्मा | सर्लाही

जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठगी गरेको आरोेपमा जिल्लाको बलरा नगरपालिका– ७, गडहियानिवासी इजराइल मन्सुरी उर्फ एमडी राजालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मन्सुरले अतिमुल्ला मियाँका छोरालाई प्रहरी विभागमा जागिर लगाइदिने प्रलोभन देखाएर आठ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोेकीका अनुसार पक्राउ परेका उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरिएको छ ।

यस्तै, अवैध लागुऔषध गाँजासहित प्रहरीले मलंगवाबाट एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको मलंगवा नगरपालिका– ७ गणेसिया टोलमा चेक प्वाइन्ट थापेर बसेको प्रहरी टोलीले २० किलो नौ सय ग्राम लागुऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका– ५, बस्ने ३० वर्षकी करिश्मा मोक्तानलाई पक्राउ गरेको हो ।

मोक्तानलाई प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पोमा गाँजा लिएर हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकी मोक्तानको साथबाट बरामद भएको गाँजा र एक थान मोबाइल फोनसमेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरि आईतवार मध्यराती बरहथवा नगरपालिका ७ बस्ने राम सिंगासन साहको कुखुरा फर्ममा आगलागी हुँदा करिव २ लाख बराबरको क्षति भएको छ । फर्ममा बिद्युतको तार सर्ट भएर भएको आगलागीबाट फर्म र फर्मभित्र भएका १७ सयवटा चल्ला जलेर नष्ट भएका जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

आगो स्थानिय र प्रहरीले करिव ४ घण्टापछि नियन्त्रणमा लिएका थिए ।