हरिवनमा बन्दै भव्य औद्योगिक ग्राम, जग्गाको विषयमा आएका समचार हल्ला मात्रै

175
Friendship Mobile

सर्लाही | हरिवन नगरपालिका ११ मा कुल १ करोड ९९ लाखको लागतमा औधोगिक ग्राम निर्माणको काम भईरहेको छ । एक स्थानीय तह एक औधोगिक ग्राम निर्माणको अवधारणा अनुरुप नै यहाँ पनि ग्राम निर्माणको काम तिब्र रुपमा भइरहेको हो ।


स्थानीय चापिनी नदी किनारमा झण्डै १२÷१३ विगाह नदी उकास जमिनमा नगरपालिकाले कम्पाउण्ड घेरेर ग्राम स्थापनाका लागि भौतिक निर्माणको काम भइरहेको नगरपालिकाका प्रमुख ईन्जिनियर जकी अहमदले जानकारी दिए । उनले ग्राम निर्माण अन्तर्गत त्यहाँ विजुलीबत्ती, सोलारबत्ती लगाउनेदेखि लिएर अहिले प्रशासनिक भवन निर्माणको काम भईरहेको बताए ।

‘नेपाल सरकारको योजना अनुरुप नै यहाँ पनि औधोगिक ग्राम निर्माणको काम भइरहेको छ ।’, प्रमुख ईन्जिनियर अहमदले भने, ‘कुल लागत एक करोड ९९ लाख मध्ये ठेक्का प्रक्रियामार्फत बिलोमा अबानिश निर्माण सेवा फुलपरासीले कुल एक करोड ३२ लाख २२ हजार ३९६ रुपैयाँ ८ पैसामा त्यहाँ भौतिक संरचना निर्माणको काम गरिरहेको छ । तर औधोगिक ग्राम बनाउने बहानामा जनप्रतिनिधिले त्यहाँको जग्गा विक्रीवितरण गर्न लागेको भन्ने विषय साँचो होईन र त्यो भ्रम मात्रै होे वास्तविकता नबुझीकन गरिने त्यस्ता प्रचारले राम्रो सन्देश जाँदैन ।’ उनले फागुन सम्ममा संरचना निर्माणका काम सम्पन्न हुने समेत जानकारी दिए ।

निर्माणाधीन औधोगिक ग्राम निर्माणको काम तिब्र गतिमा अघि बढिरहेकै बेला केही व्यक्तिहरुले केही मिडिया र मिडियाकर्मीको प्रयोग गरी ग्रामको विषयमा भ्रम छर्न खोजिएको नगरप्रमुख मेयर गणेश प्रसाद प्रसाईंका स्वकीय सचिव युवराज आचार्यले बताए । उनले भने, ‘औधोगिक ग्रामको जग्गामा जनप्रतिनिधिको गिद्धे नजर भन्दै केही संचारमाध्यममा आएको समाचारमा सत्यता छैन ।

नगरपालिकाले नगरवासीकै हितका लागि नदीको बगरलाई सदुपयोग गर्दै औधोगिक ग्राम बनाउन लागेको हो । त्यो जग्गा जनप्रतिनिधिले कुनै पनि हालतमा विक्री गर्न सक्ने कुरै छैन । त्यो सब अनर्गल अफवाहा फैलाईएको छ ।’ उनले औधोगिक ग्रामका विषयमा त्यहाँ के के भइरहेको छ र मिडियामा आएजस्तो छ छैन भनेर हरिवनवासी जानकार भएकोले नगरपालिकालेसमाचारको खण्डन गर्न आवश्यक नठानेको बताए । उनले केही विकास विरोधीहरुले दाबी गरेजस्तो नभएको भन्दै त्यस्ता हल्लाका पछि नलाग्न पनि नगरवासीलाई अनुरोध गरे ।

औधोगिक ग्रामको जग्गामा जनप्रतिनिधिले चलखेल गर्न लागेको भन्ने समाचार आफूसमेत सुनेको भन्दै हरिवन ११ का स्थानीय सुरेश भट्टराईले समाचारमा आएजस्तो नभएको बताए । उनले भने, ‘औद्योगिक ग्रामको जग्गाको विषयमा आएको समाचार मैले पनि हेरेँ, तर समाचारमा भनेजस्तो यहाँ छैन ।

ग्राम आसपासमा कुनै प्लानिङ्ग समेत नभएको अवस्थामा आसपासका जग्गा विक्रिबाट जनप्रतिनिधिले लाभ र कमिसन लिन खोजे भन्नु हास्यस्पद कुरा हो ।’ उनले ग्रामको विषयमा अनावश्यक हल्ला फैलाएर नगरवासीलाई भ्रममा पार्न खोज्नु राम्रो नभएको पनि बताए ।