नेकपा (एस) निकट भूपू सैनिक तथा प्रहरीको मधेश प्रदेश तथा सर्लाही कमिटी गठन

242
Friendship Mobile

सर्लाही | माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनको मधेश प्रदेश तथा सर्लाही भेला सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ ।

लालबन्दी १ स्थित नवलपुरमा रहेको अनमोल पार्टी प्यालेसमा भएको एकिकृत समाजवादी पार्टीमा आवद्ध भूतपूर्व सैनिक तथा प्रहरीहरुको भेलाले ५१/५१ सदस्यीय मधेश प्रदेश कमिटि र सर्लाही जिल्ला कमिटी चयन गरेको नेकपा एकिकृत समाजवादी सर्लाहीका संगठन विभाग प्रमुख भरत कुमार कार्कीले जानकारी दिनुभयो।

संगठन विभाग प्रमुख कार्कीका अनुसार भेला संगठनका नेता राजकुमार खड्काको अध्यक्षता तथा एकिकृत समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको भूतपूर्व सैनिक तथा प्रहरीहरुको भेलाले राजकुमार खड्काकै अध्यक्षतामा ५१ सदस्यीय मधेश प्रदेश कमिटि गठन गरेको छ । प्रदेश कमिटिको उपाध्यक्षमा बृजकिशोर चौधरी र पूर्ण चौधरी चयन भएका छन् भने सचिवमा प्रदेशी नारायण चौधरी, सह–सचिव रबिन्द्र भट्टराई र अन्य सदस्य रहेका छन् ।

त्यस्तै भेलाले कृष्ण कुमार लामा अध्यक्ष रहेको ५१ सदस्यीय सर्लाही जिल्ला कमिटी चयन गरेको छ । नव गठित जिल्ला कमिटीको उपाध्यक्षमा क्रमशः सूर्य फुयाँल र सन्तोष देवकोटा चयन भएका छन् । त्यस्तै सचिवमा प्रेम दाहाल, सह–सचिवमा योगेन्द्र साह र नरेश चौधरीलाई चयन गरेको छ ।

भेलामा संगठनका केन्द्रीय अध्यक्ष धन बहादुर कार्की तथा पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही सह–ईन्चार्ज प्रदेश सांसद बेची लुंगेलीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै पार्टीका सर्लाही अध्यक्ष सुरेन्द्र लामा, प्रदेश कमिटी सदस्य रबिन्द्र भट्टराई, सचिवन गोबिन्द अधिकारी, पार्टी संगठन बिभाग प्रमुख भरत कुमार कार्की, स्थानीय तह प्रमुख एवं हरिवन ५ का वडा अध्यक्ष नागेन्द्र कुमार साहलगायतका नेता तथा कार्यकर्ता र भूतपूर्व सैनिक तथा प्रहरीहरुको उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथी तथा अतिथिहरुले एकिकृत समाजवादी पार्टीले राष्ट्रको लागि काम गरिरहेकोले फेरी पनि राष्ट्रकै लागि काम गर्ने बताउनुभएको छ । राष्ट्रलाई सबल, सक्षम र सम्मुन्नत बनाउन भूतपूर्व सैनिक तथा प्रहरीहरुको योगदानलाई कहिल्यै बिर्सन नहुने भन्दै वक्ताहरुले संगठनलाई जिम्मेवार बनाउन सहयोग गर्ने बताउनुभयो ।

उनीहरुले एमसीसी राष्ट्रको हितमा नभएकोले आफ्नो पार्टीले यसको विरोध गरेको बताउनुभयो । उनीहरुले एमसीसी कुनै पनि हालतमा पारित हुन नहुने पार्टीको अडान रहेको धारणा व्यक्त गरेको पार्टीका सर्लाही संगठन विभाग प्रमुख कार्कीले जानकारि दिनुभयो ।