बागमतीमा जता राप्रपा उतै सरकार 

124
Friendship Mobile

निर्वाचनमा सँगै रहेको वाम–लोकतान्त्रिक गठबन्धन सरकार निर्माणका बेलासम्म नटिकेपछि बागमतीमा पनि प्रदेश सरकारको नेतृत्व गर्ने दलको टुंगो लागेको छैन । यसअघि पुरानै गठबन्धनबाट बागमतीमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने लगभग पक्कापक्की थियो ।

देशकै ठूलो दल कांग्रेस सत्ताबाट एक दिनमै प्रतिपक्षको कित्तामा पुगेपछि बागमतीमा पनि सरकारको नेतृत्व गर्ने अवस्था रहेन । वर्तमान सत्तारुढ गठबन्धनमध्ये बागमतीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहुमत पुग्छ । सरकार बनाउन यी तीन दललाई साना दलको आवश्यकता छैन ।

तर, तीनवटै दलले सरकारमा दाबी गरेपछि भने गठबन्धनमा अन्योल छ । गठबन्धनभित्र भागवण्डा नटुंगिएकाले बागमतीमा कसले नेतृत्व गर्छ भन्ने अन्योलमै रहेको हो । प्रदेशमा सरकार बनाउन गठबन्धनका एमाले र माओवादीलाई राप्रपाको साथ अपरिहार्य छ । १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ सिट आवश्यक छ । तर, २७ सिटको एमाले र माओवादीको २१ सिट गरी कुल ४८ सिट हुन्छ । सरकार बनाउन एमाले र माओवालीलाई थप ८ सिट आवश्यक छ ।

एमाले र माओवादीले प्रदेशमा १३ सिट बोकेको राप्रपालाई छोडेर ७ सिटको नेकपा (एकीकृत समाजवादी)लाई साथमा लिए पनि सरकार बनाउन पुग्दैन । एमाले र माओवादीले एकीकृत समाजवादीले लिँदा पनि सरकार गठनमा थप १ सिट आवश्यक पर्छ । जसका लागि २–२ सिट भएका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीमध्ये एउटालाई सरकारमा ल्याउनुपर्ने हुन्छ । तर, नेमकिपा र हाम्रो नेपाली पार्टी प्रतिपक्षमै बस्ने देखिएकाले साना दल मिलाउने सम्भावना न्यून छ । 

यसर्थ, वर्तमान गठबन्धनका दुई प्रमुख दल एमाले र माओवादीलाई बागमतीमा सरकार बनाउन राप्रपाको बढी आवश्यकता छ । उता सरकारको नेतृत्व गर्ने मुखमा पुगेर फर्किएको कांग्रेसले पनि गठबन्धनको अन्तिम सहमतिलाई कुरेर बसेको छ । गठबन्धनमा भागवण्डा नमिल्नेबित्तिक्कै सरकारबाट राप्रपा बाहिरिएको स्थितिमा र कांग्रेसले राप्रपाको साथ पाएको अवस्थामा बागमतीमा नयाँ सरकार बन्न सक्छ । ३७ सिट रहेको कांग्रेससँग वर्तमान अवस्थामा नेकपा (एकीकृत समाजवादी)पनि साथमै रहेकाले यी दुई दलको कुल सिट ४४ हुन आउँछ ।

CG Group
Khukuri rum

कांग्रेस र एकीकृत समाजवादीले राप्रपाको साथ पाए बागमतीमा ५७ सिटसहित बहुमत पुर्‍याएर सरकार बनाउन सक्ने देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी र राप्रपा मिले बागमतीमा साना दलको साथ पाएर पनि एमाले र माओवादीले सरकार बनाउन सक्दैनन् । जसका कारण बागमतीमा जता राप्रपा उतै सरकार बन्ने अंकगणित छ ।

सरकारमा एमाले, माओवादी केन्द्र र राप्रपा तीनवटै दलले दाबी गरेका छन् । सरकारको नेतृत्व गरेर प्रदेश खारेज गर्ने भनेको राप्रपाको दाबी भने रोचक छ । राप्रपा बागमती प्रदेश संसदीय दलको नेता उद्धव थापाले हेटौँडा–१०, स्थित प्रदेशसभामा प्रदेश खारेजको मुद्दा बोकेर मुख्यमन्त्रीमा दाबी गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा भनेका छन्, ‘हामी पहिला सरकार चलाउँछौँ । भित्रबाटै प्रदेश खारेजीको काम गर्छौं ।’ सरकारमै बसेर प्रदेश खारेजीको मुद्दा बोक्ने उनको भनाइ छ ।

एमालेबाट संसदीय दलको नेता जगन्नाथ थपलिया (जेएन) र माओवादी केन्द्रबाट दलको नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्रीका दाबेदार हुन् । थापासहित थपलिया र जम्मकट्टेल दुवैले सरकारमा नेतृत्वको दाबी गरिरहेका छन् ।