नेपालमा संघीयता विकृतिको पर्याय बन्यो : राजेन्द्र लिङदेन

116
Friendship Mobile

 राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताउनुभएको छ ।

शुक्रवारबाट शुरु भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्दै अध्यक्ष लिङदेनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताउनुभएको हो । उहाले मुलुकले तीन तहको राज्य संरचना र धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न नसक्ने समेत उल्लेख गर्नुभयो।

उहाले मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम हुन आवश्यक रहेको बताउनु भयो ।

उहाले भन्नुभयो, ‘नेपाल जस्तो जनसंख्या र भुगोल भएको हिसावले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र यति धेरै संख्याको जनप्रतिनिधिहरुलाई तलव भत्ता ख्वाएर पाल्न सक्दैन। आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालको सन्दर्भमा संघीयता बोझिलो र खतरनाक छ।’

उहाले मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु सबैको कर्तव्य रहेको भन्दै संघीयता देशको समृद्धिको आधार नभइ आर्थिक हिसावले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको धारणा राख्नु भयो ।

अध्यक्ष लिङदेनले सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण छिमेक र विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बनेको बताउनुभयो।

लिङदेनले भन्नुभयो, ‘मुलुकको दीर्घकालीन हितका लागि सबै दलहरुका बीच राष्ट्रिय सहमति बनाएर प्रदेशको व्यवस्था खारेज गर्दै मुलुकमा नविन समझदारी कायम गरी प्रदेश तहको खारेजी मात्र नभइ प्रतिनिधि सभा तथा स्थानीय तहको समेत जनप्रतिनिधिको संख्यामा व्यापक कटौति गर्नुपर्छ। मुलुकलाई दीर्घकालीन अफ्ठ्याराबाट जोगाउनु हामी सबैको कर्तव्य हो। आज संघीयता देशको समृद्धिको आधार होइन, आर्थिक हिसावले बोझिलो र विकृतिको पर्याय बन्न पुगेको छ। प्रदेश राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने ठाउँ बनेको छ।’

उहाले सत्ता पक्ष र प्रमुख दलहरुको क्रियाकलाका कारण बिग्रिने सम्बन्ध र देशले भोग्नुपर्ने क्षति सम्बन्धित दलहरुले मात्र नभइ सिंगो देशले व्यहोर्नुपर्ने भन्दै वैदेशिक सम्बन्ध कसैसँग नजिक र टाढाको नभइ समान हुनुपर्ने बताउनु भयो।

केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी अध्यक्ष लिङदेनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेश गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। उहाले महामन्त्री राजेन्द्र गुरुङले सचिवालय सम्बन्धी, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदनहरु पेश गरेका जानकारी वताउनुभयो।

नेता श्रेष्ठले आज नै विभिन्न सात प्रदेशका प्रदेश अध्यक्षले प्रदेशको कार्यप्रगति विवरणसहितको प्रतिवेदन पेश गरेका पनि जानकारी दिनुभयो।

आजबाटै नै विभिन्न प्रतिवेदनमा छलफल हुने र शनिवार प्रतिवेदन र भुगोकेन्द्रित जिम्मेवारीका बारेमा गरेको प्रगति विवरणबारे बैठकलाई जानकारी गराउने कार्यसूचि रहेको सो पार्टीले जनाएकोछ ।

सबै प्रतिवेदनमा छलफल सकिएपछि जेठ १३ गते बैठकले निर्णय सार्वजनिक गर्ने जनाईएको छ ।