मन्दिरमा अज्ञात व्यक्तिले राखेको पेस्तोल पड्किँदा बालक घाइते

238

मलंगवा, ७ फागुन । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको मलंगवा नगरपालिकास्थित वडा नं. ४ ढाँका गाउँमा आज दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् ।

घर नजिकै रहेको निर्माणाधीन मन्दिरमा बेवारिसे अवस्थामा रहेको पेस्तोल पड्किएर स्थानीय रामविश्वास रामको छोरा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । पेस्तोल पड्किँदा दाहिने हातमा गोली लागेर घाइते भएका अशोकको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो १ः३० बजेदेखि निर्माणाधीन मन्दिरको कुनामा रातो कपडाले बेरिएको वस्तु फेला परेपछि बालक आकाशले कपडा खोलेर हेर्न खोजेका थिए । सोही बेला पेस्तोल पड्किएको बताइएको छ । घटनास्थलबाट पेस्तोल एक थान, पड्किएको गोलीको खोका एक थान र पेस्तोलमै अड्किएको एक थान गोलीको खोका बरामद भएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

बरामद भएको हतियार जिल्ला प्रहरी कार्यालय मलङ्गवामा ल्याएर थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए । पेस्तोल कस्ले राखेको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको डिएसपी राईको भनाइ छ ।

सर्लाही सदरमुकाम मलंगवामा चार दिनअघि मात्र गोली प्रहार गरी पूर्वाधार विकास कार्यालयमा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको थियो । सव-इन्जिनियर यादवको हत्यामा संलग्न मानिस अहिलेसम्म पक्राउ परेका छैनन् । उज्यालो अभियानबाट