बिहान उठ्नेबित्तिकै खाली पेटमा के खाने भन्ने जिज्ञासा हामीमध्ये धेरैमा हुन सक्छ। बिहान सबेरै कतिपयले तातो पानी, कसैले कागती पानी, कसैले मेथी पानी त कसैले चिया वा कफी पिउने गर्छन्।

राति ८–१० घण्टाको उपवासपछि शरीरमा पानीको कमी हुन्छ, पाचन एन्जाइमहरू सुस्त हुन्छन् र आन्द्राको गति कम हुन्छ। यस अवस्थामा सर्वप्रथम शरीरमा पानीको मात्रा पूर्ति गर्नु आवश्यक हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलिल मियाँ बताउँछन्।
बिहान उठ्नेबित्तिकै खाली पेटमा चिया वा कफी नपिउन उनी सुझाव दिन्छन्। यसमा हुने क्याफिन र एसिडले ग्यास्ट्रिक बढाउँछ। एसिडका कारण पेट दुख्ने र अम्लीयपना जस्ता समस्या निम्तिन सक्छन्।
यसका साथै बिहान उठ्नेबित्तिकै खान नहुने केही खानेकुराहरू निम्नानुसार छन्:
खान नहुने खानेकुराहरू:
अमिलो फलफूल: कागती, सुन्तला र भोगटे जस्ता अमिला फलफूलले पेटमा एसिड बढाउँछन्।
चिसो पेय पदार्थ: आइस टी वा चिसो जुसले पाचन प्रक्रियालाई सुस्त बनाउँछन्।
धेरै मसलादार खानेकुरा: खुर्सानी र गरम मसलाले पेटको भित्री पत्रमा जलन गराउँछन्।

चिया र कफी: यसमा हुने क्याफिनले ग्यास्ट्रिक र छाती पोल्ने समस्या निम्त्याउँछ।
काँचो सागसब्जी: काँचो सलादमा हुने फाइबरले खाली पेटमा अपच गराउन सक्छ।
गुलियो र बेकरी आइटम: डोनट, केक वा बिस्कुटले रगतमा चिनीको मात्रा ह्वात्तै बढाउँछन्।
प्रशोधित मासु: ससेज वा सलामी जस्ता खानेकुराले पाचनतन्त्रमा धेरै भार पार्छन्।
यसको सट्टा के खाने?
मनतातो पानी: पेट सफा गर्न र पाचन प्रणाली सक्रिय बनाउन मद्दत गर्छ।
भिजाएको बदाम: ऊर्जा दिन्छ र पेटका लागि हल्का हुन्छ।
केरा वा दलिया: पेटलाई शान्त राख्छ र ऊर्जा प्रदान गर्छ।










