सर्लाही । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो तीन महिनामा मात्रै करिब साढे २ अर्ब रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ । भाइ मसला भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर सगुनका रूपमा दिने प्रचलन छ ।




भन्सार विभागको तथ्याङ्क अनुसार चाडपर्वमा अत्यधिक खपत हुने ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातका लागि मात्रै चालु आर्थिक वर्षको तीन महिनामा २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ बाहिरिएको हा । त्यसबाट राज्यले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात भएका पाँच वस्तु (ओखर, बदाम, ओखर, काजु र किसमिस)हरूको विवरण हेर्दा सबैभन्दा धेरै रकम ओखर आयातमा खर्च भएको देखिन्छ । यस अवधिमा ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको १५ लाख २५ हजार २५० किलोग्राम ओखर आयात भएको छ । जसबाट १५ करोड ८९ लाख ७० हजार रुपैयाँ राजस्व उठेको छ । ओखर मुख्यतया चीनबाट ४७ करोड २ लाख र अमेरिकाबाट १८ करोड ३६ लाख रुपैयाँको आयात गरिएको हो ।


त्यस्तै, भाइ मसला र पूजाआजा दुवैमा अनिवार्य मानिने नरिवल परिमाणका हिसाबले सबैभन्दा धेरै आयात भएको छ । तीन महिनामै १ करोड १४ लाख ६ हजार २०७ किलोग्राम नरिवल ५६ करोड ६० लाख ७० हजार रुपैयाँमा आयात भएको छ भने यसबाट ११ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नरिवलको आयात पूर्ण रूपमा भारतमा निर्भर छ ।
यसैगरी, बदाम (हाडे र कागजी) तर्फ ५ लाख ९ हजार ७८ किलोग्राम आयात भएको छ । जसको आयात मूल्य ४७ करोड ९३ लाख ३५ हजार रुपैयाँ छ भने यसबाट ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ राजस्व उठेको छ । बदामको मुख्य आयात संयुक्त राज्य अमेरिकाबाट मात्रै ४७ करोड ४२ लाख रुपैयाँ बराबरको भएको छ ।
भाइ मसलामा लोकप्रिय काजु यस अवधिमा ४६ करोड ५७ लाख २६ हजार रुपैयाँको (४ लाख ६९ हजार ५१६ किलोग्राम) आयात भएको छ । यसबाट राज्यले १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ राजस्व पाएको छ । काजु मुख्यतया भारतबाट २५ करोड २८ लाख र भियतनामबाट २१ करोड २७ लाख रुपैयाँको भित्रिएको छ ।
त्यस्तै, किसमिसतर्फ ७ लाख ३३ हजार ५९८ किलोग्राम आयात हुँदा २७ करोड ६३ लाख ४९ हजार रुपैयाँ बाहिरिएको छ भने ६ करोड ७१ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । किसमिसको मुख्य हिस्सा चीनबाट १९ करोड ९१ लाख र भारतबाट ७ करोड ७० लाख रुपैयाँको आयात भएको छ ।
यस्तै ओखर पनि १५ लाख २५ हजार किलो आयात भएको छ । जसको मूल्य ६५ करोड ३९ लाख ९९ हजार रुपैयाँ बराबरको रहेको छ । ओखर आयातबाट १५ करोड ८९ लाख ७० हजार बराबरको राजस्व संकलन भएको तथ्यांक छ ।









