चीनमा के होला नयाँ आइफोनको भविष्य ?

218
Friendship Mobile

एप्पलले मंगलबार सार्वजनिक गरेको आइफोन १२ संस्करणले चिनियाँ बजारमा आफूलाई कसरी उभ्याउला भन्ने प्रश्न सर्वत्र उठेको छ ।

अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको र अमेरिकाले चिनिया स्मार्टफोन कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाएको अवस्थामा नयाँ आइफोनको चिनिया बजारमा भविष्य के होला ? भन्ने चासोको विषय बन्नु स्वभाविकै हो ।

एप्पलले सार्वजनिक गरेका ४ नयाँ आइफोनका विषयमा चिनिया प्रयोगकर्ताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । एप्पलका कतिपय चिनियाँ फ्यानहरु नयाँ आइफोनको आगमनमा खुसी मनाउँदै चिनियाँ बजारमा उपलब्ध हुने दिनको व्यग्र प्रतिक्षामा छन् । तर चीनमा उल्लेख्य संख्याका स्मार्टफोन प्रयोगकर्ताहरु चाहिँ एप्पलको स्थानीय प्रतिद्वन्दी हुवावे कम्पनीले ल्याउने आसन्न स्मार्टफोनको पर्खाइमा छन् ।

चिनियाँ स्मार्टफोन कम्पनी हुवावे तथा शाओमीले चीनको अपग्रेडेड टेलिकम नेटवर्कमा चल्ने फाइभ जी स्मार्टफोनहरु यसअघि नै बजारमा ल्याइसकेको अवस्थामा एप्पलले बल्लतल्ल समय घर्किसकेपछि मात्र फाइभ जी आइफोनहरु सार्वजनिक गरेको कतिपयको टिप्पणी छ । जसका कारण एप्पलका फाइभ जी आइफोनले चिनियाँ बजारमा उत्साहप्रद व्यापार गर्न नसक्ने अनुमानसमेत गरिएको छ ।