निजगढ–काठमाडौं द्रुुतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्न अध्ययन सुरु

218
Friendship Mobile

निजगढ–काठमाडौं द्रुुतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्न अध्ययन थालिएको छ । 

बागमती प्रदेश सरकारले काठमाडौं–निजगढ द्रुुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो। प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित मिलनबिन्दुको खोजी शुरू गरेको छ । 

द्रुतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.८ र इन्द्रसरोवर गाउँपालिका वडा नं.३ को कोगटेदोभानमा जोड्न सके हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले सङ्घीय सरकारसँग प्रस्ताव गरेको हो। प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन शुरू गरेको छ ।

सङ्घीय सरकारको तर्फबाट हालै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित बिन्दुको अवलोकन गरेका छन्।अवलोकनपछि उपाध्यक्ष डा कँडेलले दु्रुतमार्ग शुरू गर्ने बेलामा यस मार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताएका छन।

उनले द्रुतमार्ग अनुगमन समितिले द्रुतमार्ग निर्माणको क्रममा प्रदेश ३ सरकारसँग समन्वय गर्ने निर्णय भएको जानकारी गराएका छन्। समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरू अवलोकन र अध्ययनका लागि आएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीका विकासविज्ञ गजेन्द्र थपलियाले प्रदेश सरकारको प्रस्ताव अनुसार सङ्घीय सरकारले यस कार्यमा सहयोग तथा सहकार्य गर्ने बताएका छन मदन भण्डारी मार्गमा सुरुङ निर्माणसहित स्तरीकरण गर्ने र द्रुतमार्गसँग जोड्ने प्रदेश सरकारको योजना रहर नभएर टड्कारो आवश्यकता रहेको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

सुरुङबाहेक मदन भण्डारी मार्गको स्तरीकरणको सम्पूर्ण काम धमाधम भइरहेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी गराएका छन् ।

सडक फराकिलो बनाउने, पर्खाल लगाउने र सम्याउने काम भइरहेको र कालोपत्रे गर्ने तयारीमा रहेको उनको भनाइ छ ।