रौतहटमा सरकारि शिक्षकबाट उठाईएको तलव कोरोना कोषमा पुगेन

328
Friendship Mobile

रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा सञ्चालित ४६ ओटा विद्यालयका ३ सय १५ शिक्षकहरुबाट कोरोनाको नाममा उठाइएको २१ लाख भन्दा बढी रकम सरकारको कोषमा जम्मा नभएको खुलासा भएको छ ।

गत चैत्रमा स्थानिय शिक्षकहरुबाट चन्द्रपुर नगरपालिकाले प्रा.वि. शिक्षकका ३ दिन, नि.मा.वि शिक्षकका ५ दिन र मा.वि. शिक्षकका ७ दिन बराबरबर तलव उठाइएको थियो । नगरपालिकाले शिक्षकहरुको तलवबाट कोरोना नियन्त्रणका लागी भन्दै २१ लाख भन्दा बढी रकम उठाइएको थियो तर त्यो रकम कुन कोषमा छ भन्ने अहिलेसम्म हिसाब किताब सार्वजनिक भएको छैन ।

यसरी उठाइएको रकम नेपाल सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था नेपाल सरकारले गरेको छ । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलको आदेशमा नगरक्षेत्रका शिक्षकहरुबाट रकम उठाइएको शिक्षकहरुले बताएका छन ।

चन्द्रपुर नगरपालिकाका १२ मा.वि., ११ नि.मा.वि. र २३ प्रा.वि.का ३ सय १५ शिक्षकको तलबबाट उक्त रकम उठाइएको हो । रौतहटका १८ स्थानिय तहहरु मध्ये चन्द्रपुर नगरपालिकामा मात्र शिक्षकको तलब कट्टा गरि रकम उठाइएको थियो ।

चैत महिनाको तलबबाट पैसा काटिएको रकम कहाँ कुन प्रयोजनका लागी खर्च भएको हो सोको जानकारी दिनु पर्ने जनज्योति मा.वि. चन्द्रनिगाहपुरका सह–प्रधानाध्यापक देवनारायण हुमागाईंले बताउनु भयो । आफुले यसबारे शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलसँग सोधपुछ गरेको भन्दै उठेको रकम सरकारले तोकेको उपचार कोषमा जम्मा नगरि आफुखुशी अन्यत्र राख्न नपाउने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपेन्द्र मण्डलले २१ लाख भन्दा बढी रकम उठाइएको बताउनु भएको छ । आफुले पनि कोरोना नियन्त्रणका नाममा शिक्षकको तलबबाट रकम कट्टा नगरौं भनेको तर उठाइसकेपछि पनि चौमासिकका बेला फिर्ता गर्न सिग्देललाई अनुरोध गर्दा सो कुराको सुनवाइ नभएको मण्डलले बताउनु भयो ।

उपसचिव सिग्देलले शिक्षकबाट उठाइएको रकम विपत् व्यवस्थापनको खातामा जम्मा भएको र अहिलेसम्म खर्च नभएको बताउनु भएको छ । उक्त रकम कोरोना उपचार कोषमा जम्मा हुन नसकेको लेखा अधिकृत कीर्ति सुवेदीले समेत स्विकार्नु भएको छ ।