भारत र बंगलादेशका नागरिकले चीन प्रवेश गर्न नपाउने

281
Friendship Mobile

चीनले विदेशी नागरिकलाई चीन प्रवेशमा कडाई गरेको छ। अक्टोबरमा चीनमा ५१५ कोभिड-१९ का इम्पोर्टेड केस दर्ता भएका छन्। जुन गत सेप्टेम्बर भन्दा ४५ प्रतिशतले बढी हो।

गत साता मात्र २३ जना भारतीय नागरिकमा संक्रमण पुष्टि भएको थियो। ४ कन्फर्म केस थिए भने १९ लक्षण बिहिन केसहरु। उनीहरु दिल्लीबाट अक्टोबर ३० मा वुहान पुगेका थिए। चीनका विज्ञहरुले विदेशबाट आउने मध्ये न्युक्लिक एसिड टेस्टका २० देखि ५० प्रतिशत सम्म फल्स नेगेटिभ केस हुन सक्ने भन्दै सतर्कता अपनाउन भनेका छन्।

त्यस्तै पछिल्लो सूचना अनुसार ११ देशका नागरिकहरुलाई चीन प्रवेशमा रोकसमेत लगाइएको छ। जसमध्ये फ्रान्स, रुस, भारत, बंगलादेश, इटाली, युक्रेन, इथियोपिया, युके, बेल्जियम, फिलिपिन्स र नाइजेरिया रहेका छन्।

आइतवारको नियमित प्रेस ब्रिफिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले कुनै पनि परीक्षणले सतप्रतिशत नतिजा नदिने भन्दै न्युक्लिक एसिड टेस्टसँगै इमुनोग्लोविन (आईजिएम) एन्टिबडी टेस्ट पनि गर्नुपर्ने बताए।

यो प्रक्रिया यसअघि केही देशहरुमा लागु गरिएको प्रभावकारीसमेत भएको उनले जानकारी दिए। त्यस्तै एक भन्दा बढी स्थानमा ट्रान्सिट भएर आउने यात्रुहरु यात्रा सुरु गर्नुपूर्व नेगेटिभ भए पनि ट्रान्सिट हुने स्थानमा संक्रमित हुन सक्ने कुरालाई ध्यान दिँदै ट्रान्सिट भएको स्थानमा पनि परीक्षण गर्नुपर्ने उनले बताए। त्यसैले पनि यात्र गर्न अत्यावश्यक भए सिधा उडान लिनसमेत उनले आग्रह गरेका छन्।

यसैबीच नेपालबाट चीन प्रवेश गर्ने यात्रुहरुमा समेत चीनले कडाइ गरेको छ। काठमाडौं स्थित चिनियाँ दूतावासले सूचना जारी गर्दै चीन प्रवेश गर्नु अगाडि न्युक्लिक एसिड टेस्टसँगै आईजीएम एन्टिबडी टेस्ट गर्नुपर्ने जनाएको छ। नेपालबाट चीन उडान गर्ने सबै विदेशी नागरिकले दुबै परीक्षण गरी ‘एसएस’ मार्क उल्लेखित ग्रिन हेल्थ कोड अथवा प्रमाणित हेल्थ डिक्लेरेसन पेश गर्नुपर्ने जनाएको छ।

परीक्षणका लागि दूतावासले दूई वटा प्रयोगशालासमेत निर्धारण गरेको छु। चीन जाने यात्रुले स्टार अस्पताल सानेपा र ह्याम्स अस्पताल धुम्बाराहीबाट उडान भर्नु भन्दा अघि कोभिड-१९ को न्युक्लिक एसिड टेस्ट र आईजीएम एन्टबडी टेस्ट गराउनुपर्ने छ। जुन उडान पूर्व ४८ घण्टाको मान्यता दिइएको छ।

त्यस्तै नेपाल ट्रान्सिट भएर चीन जाने यात्रुलाई पनि यो लागु हुनेछ। नेपालबाट अन्य कुनै देशमा ट्रान्सिट भए त्यहाँ पनि परीक्षण गर्नुपर्ने छ। साथै हेल्थ कोडका लागि त्यहाँको दूतावासमा निवेदन दिनुपर्ने छ।

चिनियाँ यात्रुका लागि भने वीच्याट हेल्थकोड एपमा फोटोसहितको नेगेटिभ न्युक्लिक एसिड टेस र आईजीएम एन्टिबडी टेस्टको नतिजा पेस गर्नुपर्नेछ।

विदेशी यात्रुले हेल्थकोडका लागि परीक्षणको रिपोर्टको कपिका साथै पासपोटको कपि र हेल्थ डिक्लेरसन फर्म साइन गरेर दुतवासमा मेल आइडी consulate_npl@163.com मा मेल गर्नुपर्नेछ। दूतावासले एक दिन भित्र हेल्थ कोड मेल गर्ने छ। सो हेल्थ कोड विमानस्थलमा देखाउनुपर्ने छ।

पहिलो पोस्टमा खबर छ ।