मेरो छवि धुमिल बनाउन खोजियो : बागमती नगरप्रमुख थापा


केहि समय अघि सर्लाहीको बागमति नगरपालीकाका प्रमुख (मेयर) भरत कुमार थापा प्रति साँघु न्युज नामक पत्रीका तथा अनलाईनमा प्रकाशित समाचार प्रति मेयर थापाले खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएका छन ।
गएको कार्तिक महिनामा साँघु साप्ताहिक र साँघु न्युजमा ‘सर्लाहीको बागमती नगरपालिका भ्रष्टाचारको केन्द्र ः मेयरको खेती, अर्बको गिटीबालुवा विक्री गर्ने, एक रुपैयाँ आम्दानी नबाँध्ने’ शिर्षकमा समाचार प्रकाशन भएको थियो । समाचारमा लगाइएको आरोप र गलत तथ्यांकसहितको समाचारप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको मेयर थापाले बताएका छन ।
गलत तथ्यांक उल्लेख भएको समाचारले नगरपालिकाको मेयर थापाको व्यक्तिगत छविमाथि असर परेको जानकारी गराउँदै नगरपालिकाले हालसम्म गरेका विकास निर्माणका काम आम नागरिकको मागलाई ध्यान दिँदै पूर्ण पारदर्शीरुपमा सञ्चालन भइरहेको व्यहोरा उल्लेख गरेको छ । समाचारमा मेयरलाई संजय टक्लासँग जोडेर बद्नाम गराउने प्रयास भएको र उनीसँग कुनै सम्बन्ध नरहेको बताउँदै आजको दिनसम्म कसैको कर्मचारी वा ज्याला मजदूर भएर काम नगरेको समेत उल्लेख गर्न चाहेको मेयर थापाद्वारा बताईएको छ ।
त्यसैगरी जनयुद्धको समयमा तत्कालीन माओवादीका लोक रोशन प्रधानले बैंक लुटेर ल्याएको पैसा राख्न दिएको र उनको निधन पछि सो पैसा मेयर थापाले पचाएको, सोही पैसाले क्रसर सञ्चालन गरेको भन्ने आरोप अत्यन्त निराधार रहेकोले पुष्टि गर्न समेत मेयर थापाले प्रकासकलाई चेतावनी दिएका छन ।
जननिर्वाचित मेयरलाई ठेकेदारजस्ता विभिन्न संज्ञा दिएर बद्नाम गराउन रचिएको निराधार र कपोकल्पित समाचारले स्थानीय तहको मनोबल खस्किन पुगेको उल्लेख गर्दै थापाले समाचारमा उल्लेख गरिएका आरोपहरु भ्रामक र मेयरको छवि धुमिल पार्ने किसिमको भएकाले समाचारको पुष्टि गर्न चुनौती दिँदै समाचारको खण्डन गरेको बताएका छन ।