प्रदेश २ को संसदीय दलको नेतामा महतोलाई चुनियो

260
Friendship Mobile

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव समूह)ले प्रदेश नम्बर २ संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ ।

मंगलबार जनकपुरमा बसेको प्रचण्ड-माधव समूहको बैठकले मण्डलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव बहुमतले पारित गर्दै शत्रुधन महतोलाई आफ्नो पक्षको दलको नेता चयन गरेको हो ।

बहुमत सदस्यले मण्डल विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको प्रचण्ड-माधव समूहका संसदीय दलका नेता महतोले जानकारी दिनुभएको छ । महत्तोले नेकपाका ३२ मध्ये १९ प्रदेश सांसद आफूहरुसित भएको र त्यो बहुमत भएकाले नयाँ नेताको जिम्मेवारी आफूलाई दिएको जानकारी दिनुभयो ।

मण्डलविरुद्ध विरुद्ध उपनेता रामकुमार यादव समक्ष गत बुधबार नै प्रचण्ड-माधव नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । बैठकमा सहभागी नभएपछि बहुमतले अविश्वास प्रस्ताव पारित गरिएको संसदीय दलकी सचेतक बेची लुंगेलीले जानकारी दिनुभयो ।

यो समूहले संसदीय दलको नेता चयनबारेको जानकारी सभामुख सरोजकुमार यादवलाई जानकारी गराइएको बताएको छ । उता, केपी शर्मा ओली समूहले मंगलबार नै जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।

मधेशविरोधी आरोप खेपिरहेका प्रधानमन्त्री ओली पक्षले जनकपुरमा शक्ति प्रदर्शन गरेको हो । अहिले ओली सरकारमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने तीन मन्त्री छन् । जनकपुरको रेल्वे स्टेशन परिसरबाट शुरु गरेको प्रदर्शनमा ओली समूहका प्रदेश सांसदहरु, मेयर र उपमेयरहरु सहभागी भएका थिए ।

प्रदर्शन नेकपा प्रदेश कार्यालय मिथिला भवनमा पुगेर सभामा परिणत भएको थियो । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु जुली महतो, लीलानाथ श्रेष्ठ र प्रभु साहले सम्बोधन गर्नुभएको थियो ।