शिक्षा शाखा प्रमुखमाथि कुटपिट भएकाे विराेधमा बरहथवा नगरपालिकाका कर्मचारी धर्नामा

399
Friendship Mobile

सर्लाहीको बरहथवा नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपनारायण राय यादवमाथि कुटपिट भएको विरोधमा कर्मचारीले कार्यालयको काम ठप्प पारेर धर्नामा बसेका छन् । यादवलाई वडा नम्बर १७  का वडाध्यक्ष  रामविश्वास रायले मङ्गलवार बेलुका कार्यकक्षमै कुटपिट गरेका थिए ।

शिक्षकको तलब दिने विषयमा विवाद हुँदा कुटपिट भएको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले जानकारी दिए । धर्नाका क्रममा पनि कर्मचारी र वडाध्यक्ष पक्ष समूहबीच झडप हुँदा वडाध्यक्षसहित दुवै पक्षका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्य नगरपालिकाबाट काज सरुवा भइ बरहथवा नगरपालिका १० को  कटानीमा रहेको दुर्गा सरस्वती जनता माविका शिक्षक फेकुकुमार रायलगायत राहत कोटाका शिक्षकलाई तलब भत्ता नदिएको भन्दै वडाध्यक्ष रायले नगरपालिकाको शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेका बताईएको छ ।

स्वास्थ्य शाखाका प्रमुख सत्यनारायण यादव भन्छन ‘कार्यालय समयमा कर्मचारीमाथि आक्रमण हुनु गम्भीर कुरा हो, यही अवस्था रहे काम गर्न सकिँदैन, यसअघि पनि प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको हो । त्यसबेला कारबाही नगरेका कारण उनको मनोबल बढ्दै गएको छ । हामी कर्मचारी कसैको कुटाइ र धम्की खान यहाँ आएका होइनौँ, दोषीलाई कानुनी कारबाही नभएसम्म कर्मचारीको धर्ना जारी हुन्छ, कुनै बहानामा दोषीलाई उन्मुक्ति दिए नगरपालिकाभित्रको सबै सेवा बन्द हुन्छ । आज नगरपालिका बन्द भयो, यही अवस्था रहे भोलिदेखि शिक्षा, स्वास्थ्यलगायतका सबै वडामा रहेका कार्यालयको काम बन्द हुन्छ’, ।