सामरी खोलामा अलपत्र पुल बाढीले बगायो

361
Friendship Mobile

मकवानपुर — मकवानपुरको सामरी खोलामा ठेकेदारले तोकिएको समयमै निर्माण नगरी अलपत्र पारेर राखेको पुल खोलाले बगाएको छ । मकवानपुरगढी गाउँपालिका–५ र ३ जोड्नका लागि सामरी खोलामा निर्माणधीन पुल बिहीबार राति आएको बाढीले बगाएको हो । 

पुल ५ वर्षदेखि ठेकेदारको लापरबाहीका कारण अलपत्र अवस्थामा रहेको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत तत्कालीन जिल्ला विकास समिति मकवानपुरले नागार्जुन–शंकर–माली जेबी ठेकेदार कम्पनीलाई करिब पाँच करोड ३७ लाख ९२ हजारको लागतमा निर्माण गर्न ठेक्का दिएको उक्त पुलमा हालसम्म तीनवटा पिल्लर निर्माण मात्र भएको छ । वर्षात् सुरु भएसँगै पुलमा फर्माहरु प्रयोग गरी ढलानको तयारी गरिएको थियो ।

२०७४ साल चैतसम्ममा पुल निमार्णको कार्य सकिनुपर्ने भएपनि अहिलेसम्म पुलको पिल्लर राख्ने बाहेक अरु कुनै काम भएको छैन । २०७३ सालदेखि पुल निमार्ण सुरु भएको थियो । सम्झौता अवधि सकिएको ४ वर्ष भइसक्दा पनि पुल निर्माण पूरा नभएकोभन्दै स्थानीयले आक्रोशित छन् । समयमै काम पूरा नहुँदा यस क्षेत्रका स्थानीय लामो समयदेखि सास्ती खेप्नु परिरहेका उनीहरुको भनाइ छ ।

पुल नहुँदा ५ नम्बर वडाका मानिसहरु हेटौंडा आउजाउका लागि तुइनको प्रयोग गर्ने गरेका छन् । त्यसक्षेत्रमा तरकारी र दूध बढी उत्पादन हुन्छ । ढलान गर्नका लागि तयार गरिएको फर्मा र थुपारिएको गिट्टी बालुवाका कारण आफ्नो घर बगाउने खतरा भएको स्थानीय नवराज न्यौपानेले बताए । ‘हामीले ठेकेदार तथा सरोकारवाला पक्षलाई धेरै पटक पुल निर्माण समयमै सम्पन्न गर्नका लागि दबाब दियौं । तर, कतैबाट केही सुनुवाई भएन ’, उनले थपे ।

गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले ठेकेदार, प्रदेश सरकार र जिल्ला समन्वय समितिलाई बारम्बार पुल निर्माणका लागि ध्यानाकर्षण गराएको भएपनि सबैले बेवास्ता गर्दा हालको अवस्था सिर्जना भएको बताए । ‘अब ठेक्का रद्ध गरी अर्को बोलपत्र आह्वान गरेर भएपनि पुल निर्माण छिट्टोभन्दा छिट्टो गर्न जरुरी छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पनि त्यसक्षेत्रको स्थलगत अनुगमन गरेका छन् । ‘पुलको निर्माण छिट्टोभन्दा छिट्टो कसरी निर्माण गर्न सकिन्छ भनेर सरोकारवाला पक्षसँग तत्काल छलफल गर्नेछु । अब आयोजना प्रमुखलाई जिम्मेवार बनाइनेछ ।’ आयोजना अहिले प्रदेश सरकार मातहतमा रहेकाले आफूहरुले समन्वय गर्ने प्रजिअ पाण्डेले बताए ।