पुष्पलालको ४३ औँ स्मृति दिवसमा बृक्षारोपण


सर्लाहीमा नेकपा एमालेको दुई समूहले बिहिवार बेग्लाबेग्लै कार्यक्रम गरेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाएका छन् ।
पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहले लालबन्दी नगरपालिका–१५, परवानिपुर बोहोरे डाँडामा निर्मित पुष्पलालको स्मृति पार्क परिसरमा सरसफाई एवं वृक्षारोपण कार्यक्रम गरेको छ भने अध्यक्ष केपी शर्मा ओली समूहले लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित जनज्योति सामुदायिक वन परिसरमा वृक्षारोपण गरेको छ ।
परवानिपुरको कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष उद्धव पाठकको अध्यक्षता तथा नेपाल–खनाल समूह निकट जिल्ला कमिटी अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेताहरु केशव ढुङ्गाना, सुरेन्द्र लामा, प्रदेश सभा सदस्य द्वोय बेची लुङ्गेली र डिल्ली प्रसाद उप्रेती, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर लगायतको आतिथ्यता रहेको थियो ।
नेपाल–खनाल समूहले पुष्पलालको स्मृति दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । सप्ताहव्यापी कार्यक्रमकै अवसरमा वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बोहोरे डाँडामा निर्मित पुष्पलालको शालिक अनावरण गराइने प्रदेश सभा सदस्य एवं पार्टीकी जिल्ला कमिटी सचिव बेची लुङ्गेलीले जानकारी दिईन् ।

कार्यक्रमकै बिच पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष पाठकलाई बिहिवार जन्मदिन परेको भन्दै खनाल नेपाल समुहका जिल्ला अध्यक्ष पन्त लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।
यस्तै, ओली समूहले जिल्ला कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम गरेको छ । सो समूहका जिल्ला कमिटी अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा संविधान सभा सदस्य हरि उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित वृक्षारोपण कार्यक्रममा जिल्ला कमिटीका सचिव केदार खत्री, नेताहरु विदुर प्याकुरेल, राजकुमार उप्रेती, हरिवन नगरपालिकाका उपमेयर रेणुका पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

ओली समूहले पुष्पलालको स्मृति दिवसकै अवसरमा ५ जना वृद्धहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । सर्लाहीमा एमालेका दुवै समूहले आफ्नो कमिटी नै आधिकारिक रहेको दावी गर्दै आइरहेका छन् । (उज्यालो अभियानसँगको सहकार्यमा)