हामी मुद्दामा आधारित पार्टी हौं- कृषि मन्त्री यादव

282
Friendship Mobile

मलंगवा | सर्लाही जिल्लाको बसबरिया गाउँपालिका- ४ धनगढा र बरहथवा नपामा आइतबार जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आयोजना गरेको शुभकामना आदानप्रदान, स्वागत तथा सम्मान एवं पार्टी प्रवेश कार्यक्रममा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जनता समाजवादी पार्टी मुद्दामा आधारित पार्टी रहेको बताएका छन् ।

देशमा पहिचान र अधिकारको लामो लडाइ आफू र आफ्नो पार्टी निरन्तर लडिरहेको बताउदै मन्त्री यादवले भने, “जसपा फुटेको होइन, पार्टीमा रहेका भगौडा र बेइमानहरु पार्टीबाट गएका मात्र हुन् ।” तिनीहरु पार्टीबाट गएपछि अहिले प्रदेश नं. ६, ७, ५, ४ र २ को प्रदेश सरकारमा जसपाको तर्फबाट मन्त्री रहेको र प्रदेश नं. १ र ३ को प्रदेश सरकारमा जसपालाई सहभागी गराउने कुरा पक्का भएको उनले बताए ।

संविधान संसोधन, समान जनसंख्याका अधारमा राज्यको विभिन्न निकायमा प्रतिनिधित्व हुनुपर्ने, झुठा मुद्दा फिर्ता लिनुपर्ने, अपाङ्गता भएकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने र मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सपना लगायतका माँगहरु सरकारले अझै पूरा गर्न नसकेको बताउदै मन्त्री यादवले भने, हामी मुद्दामा आधारित पार्टी हौं ।

आइतबार भएको शुभकामना आदानप्रदान, स्वागत तथा सम्मान एवं पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी (केन्द्र) का ४ सय नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । सर्लाहीमा जसपा प्रति विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एवं आम जनसमुदायको लहर बढ्दै गएको छ ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी (केन्द्र) पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका नव प्रवेशी कार्यकर्ताहरुलाई संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले स्वागत तथा बधाई दिनुका साथै फुलमाला र अबिर लगाएर पार्टी प्रवेश गराएका छन् ।

मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान, स्वागत तथा सम्मान एवं पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवले शुभ दिपावली एवं छठ पर्वको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता एवं उपस्थित सम्पुर्ण जनसमुदायमा सुख, शान्ति, सु-स्वास्थ्य तथा समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश नं. २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री मा. राम नरेश राय, पार्टीका केन्द्रिय सदस्य भाग्य नारायण यादव, प्रदेश सांसद संजय यादव, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, उपाध्यक्ष गणेश यादव, कबिलासी नपाका मेयर कौशल किशोर यादव, सर्लाही निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय इन्चार्ज राम बिनय राय, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरी लगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवि, कर्मचारी, कृषक वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको भव्य उपस्थिती रहेको थियो ।