लालबन्दी १४ का बिभिन्न ठाउँमा लगाईएका गाँजा खेती नष्ट

311
Friendship Mobile

सर्लाही जिल्लाको लालबन्दी नगरपालिकास्थित उत्तरतर्फका बिभिन्न ठाउँहरुमा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

लालबन्दी नगरपालीका वडा नम्बर १४ को कामिटार, मटरखोला, हात्तिसुँडे, तोरीबारी, मटरदोभान र ब्रह्मस्थानमा स्थानीयवासीले लगाएको अवैध गाँजा खेती प्रहरीले आईतवार फँडानी गरेको हो ।

ती स्थानमा ठूलो मात्रामा गाँजा खेती लगाएको सूचनाका आधारमा पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिव ६ बिघा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी सुरक्षा बल १० नं. हेडक्वार्टर गण कविलासी र सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवन, सर्लाहीबाट खटिएका सुरक्षाकर्मीको टोलीले सो क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प हरिवनका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको नेतृत्वमा गएको ७५ जना सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो ।

अझै त्यस क्षेत्रमा ठुला क्षेत्रफलमा गाँजा खेती गरिएको हुन सक्ने अनुमान गरिएको छ ।