मलंगवा, ०६ फागुन । सर्लाहीमा कार्यालय प्रमुखहरुको बैठकले अत्यावश्यक कामबाहेक निर्वाचन अवधिभर कर्मचारीहरु बिदामा बस्न नपाउने निर्णय गरेको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय मलङ्गवामा सम्पन्न बैठकले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारीलाई चुनाव अवधिभर बिदामा बस्न नदिने निर्णय गरेको हो । निर्वाचनमा खटाइएको स्थानमा खट्ने/खटाउने प्रवन्ध मिलाइ आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफल बनाउने कार्यालय प्रमुखहरुको बैठकले निर्णय गरेको छ ।
निर्वाचनका लागि सर्लाहीका ६२८ मतदान केन्द्रमा तीन हजार ७६८ कर्मचारी खटाइँदै छ । यस्तै बैठकले निर्वाचन प्रयोजनका लागि अत्यावश्यक हुने सवारी साधन जुनसुकै बेला आवश्यक परी माग गर्नुपर्ने भएकाले आफ्ना कार्यालयमा रहेका सवारी साधनहरु चालु अवस्थामा राखी माग भए बखत तत्काल उपलब्ध गराउने निर्णय गरिएको हो ।
बैठकले पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गरेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा सम्पन्न निर्वाचन लक्षित कार्यालय प्रमुखहरुको बैठकले राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहको कारण सेवाग्राही वा अन्य कुनै पक्षबाट कुनै प्रकारको असुरक्षा महसुस भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी वा सुरक्षा निकाय समक्ष तत्काल जानकारी गराउने निर्णय गरेको छ ।
फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब दुई साता बाँकी रहँदा जिल्लामा यस प्रकारका बैठकसहित तयारीका काम तीव्र रुपमा भइरहेका छन् ।
काठमाडौँ, ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छन् । रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति तथा वर्तमानमा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेकी हुन् ।
“राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आबद्ध भएकी थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालीन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरीत भएको अनुभव गरेकी छु’, उनले राजीनामा पत्रमा भनेकी छिन् ।
शर्माले थप भनेकी छिन’सङ्गठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्याङ्कन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरू माथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यश पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु ।’
शर्मा बाराकी हुन् । उनी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति हुन् । यसपालि टिकट पाउने आशामा रहेकी उनले अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्ट रहँदै आएकी थिइन् । समानुपातिकमा पनि ममताले निवेदन दिएकी थिइन् । उनले प्राइमरी निर्वाचनबाट तेस्रो नम्बरमा नाम निकाल्न सफल भएकी थिइन्, तर लिस्ट बनाउँदा पार्टीले उनको नाम सात नम्बरमा पु¥याएको थियो, त्यसपछि उनले समानुपातिकमा बस्न अस्वीकार गरेकी थिइन् । रातोपाटीबाट