सर्लाही, ३० जेठ । सर्लाहीमा ५ जना प्रहरी निरिक्षक इन्स्पेक्टर फेरिने भएका छन ।
नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुको एकैपटक ठूलोमा संख्यामा सरुवा गरिएको हो । यही जेठ २७ गतेको निर्णय अनुसार ५०९ जना इन्स्पेक्टरको सरुवा गरिएको प्रहरीको मानवस्रोत विकास विभागले जनाएको छ । सोहि अनुरुप सर्लाहीस्थित नेपाल प्रहरीका विभिन्न युनिटमा कार्यरत पाँचजना (इन्स्पेक्टर)हरुको सरुवा भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अशोक कुमार साहको नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर सरुवा भएको छ । उनकाे ठाउँमा वडा प्रहरी कार्यालय त्रिभुवननगर घाेराही दाङ दरबन्दी भई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्शालमा कार्यरत झलक शर्मा आउने भएका छन ।
त्यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख बीरेन्द्र सिंह जोहारीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौं सरुवा भएको छ भने उनकाे ठाउँमा काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट ईन्सपेक्टर श्याम थापा मगर आउने भएका छन् ।
इलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रमुख पवन जंग कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय पाेखराबाट ईन्स्पेक्टर गणेश पाण्डे इलाका प्रहरी कार्यालय चक्रघट्टा प्रमुख भएर आउने भएका छन् ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा कार्यरत ईन्स्पेक्टर विशाल बहादुर बुढाथोकीको इलाका प्रहरी कार्यालय टोकरपुर, रामेछाप प्रमुखको रुपमा सरुवा भएको छ भने ईन्स्पेक्टर बिन्देश्वर यादवको नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, सुनसरी सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीकाे मानवश्राेत व्यवस्थापन शाखा प्रमुखकाे रुपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट ईन्स्पेक्टर रुपेश अधिकारी आउने भएका छन् भने शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा प्रमुखकाे रुपमा प्रहरी प्रधान कार्यालयबाट सुषमा कठेत आउने भएकी छिन् ।








