ब्रम्हपुरीबाट अवैध हात हतियारसहित तीन युवक पक्राउ

394
Friendship Mobile

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२, बाट हतियारसहित तीन युवक पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रम्हपुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्रम्हपुरी–मोहनपुर सडक खण्डमा हतियारसहित तीन युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका–४, त्रिभुवननगरका २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेका छन् । उनीहरुको साथबाट म्याग्जिनसहितको मेड ईन इटाली लेखिएको दुई थान पेस्तोल, छुट्टै दुई थान म्याग्जिन, १७ राउण्ड गोली, बीआर ३० एक्स ६०११ नम्वरको २२० सी.सी. को एक थान पल्सर मोटरसाइकल र तीन थान मोवाइल सेट बरामद् भएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार रमेश मण्डलले मोटरसाइकल चलाएको र अरु दुई जना पछाडि बसेर हिँडिरहेको अवस्थामा हतियारसहित पक्राउ गरिएको हो । अस्ती सुक्रवार साँझ साँढे ५ बजेतिरै पक्राउ परेका उनीहरुलाई आज दिउँसो सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी सार्वजनिक गरिएको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध अनुसन्धानका लागि अदालतले सात दिनको म्याद प्रदान गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव प्रसाद बुढाथोकीले बताए । कुन प्रयोजनका लागि हतियार बोकेर हिँडिएको थियो भन्ने सम्वन्धमा अनुसन्धान जारी रहेको डीएसपी बुढाथोकीको भनाई छ ।